34.7 C
Nepal
Tuesday, April 21, 2026
Home Blog Page 267

रु. १ करोडसम्मको घरबीमा मात्र वार्षिक रु ५०० देखि रु. ४५०० मा गर्न सकिने

0

ईसेवाले रु. १ करोडसम्मको बीमा हुने यस योजनामा वार्षिक रु. ५०० देखि ४५ रुपैयाँसम्ममा गर्न सकिने गरी बिभिन्न निकायसङ्गको सहयोगमा ल्याएको छ ।

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले यूएसएड, तयार र शिखर इन्स्योरेन्ससँगको साझेदारीमा बीमा प्रक्रियालाई डिजिटाइज गरी अझ सरलीकरण गर्न घरबीमा सुविधा ल्याएको छ। 

हाललाई यो योजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकामा लागू हुनेछ। साथै अन्य इच्छुकले पनि नेपालभर नै यो सुविधा लिन सकिनेछ।

यस योजना इसेवाको मोबाइल एपभित्र रहेको इन्स्योरेन्स शीर्षकमा सूचीबद्ध सेवामार्फत सजिलै घरबीमा खरिद गर्ने सुविधा प्राप्त गर्न सकिनेछ।

यस योजनामा सहभागी हुन घरधनीले घरको तस्बिर, अपेक्षित मूल्य र त्यसको सम्पत्ति विवरण इसेवमा एपमार्फत अपलोड गर्नुपर्नेछ। इसेवाले यसअघि नै ग्राहक तथा ग्राहकका आफन्त र साथीभाइमा लागू हुने गरी इसेवा केयर सञ्चालनमा ल्याइसकेको छ।

इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयको शुल्क भुक्तानी, हवाईजहाज र बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सुविधाको भुक्तानी गर्न सकिन्छ।

५ हजारको लगानीलाई ५० हजार करोड बनाएका थिए राकेश झुनझुनवालाले

0

भारतका दिग्गज सेयर लगानीकर्ता राकेश झुनझुनवाला विश्वको दोस्रो सफल लगानीकर्ता मानिएको छ। 

हालै सार्वजनिक एक अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो। यद्यपि, राकेश झुनझुनवालाको १० महिनाअघि निधन भइसकेको छ। 

अध्ययन प्रतिवेदनका अनुसार ३७ वर्षको करिअरमा झुनझुनवालाले वार्षिक औसत ६५ प्रतिशत रिटर्नका साथ आफ्नो सम्पत्ति करिब ५० हजार करोड पुर्याएका थिए। उनले सन् १९८५ मा मात्र ५ हजारबाट लगानी सुरु गरेका थिए। उनको २०२२ अगस्ट १४ मा हृदयघातका कारण मृत्यु भएको थियो।

प्रतिवेदनअनुसार झुनझुनवालाको १९८५ देखि २०२२ अगस्त १४ सम्म औसत रिटर्न अमेरिकी लगानीकर्ता जिम सिमन्सभन्दा झिनो अन्तरले कम हो। अमेरिकी क्यापिटल मार्केट कम्पनी रेनेसान्स टेक्नोलोजीका सिमन्सलाई सन् १९८८ र २०१८ को बीचमा वार्षिक औसत ६६ प्रतिशत रिटर्नका विश्वकै सबैभन्दा सफल लगानीकर्ता मानिन्छ। झुनझुनवालाको रिटर्न योभन्दा १ प्रतिशत मात्र कम रहेको देखिएको छ। 

त्यसो त विश्वका अन्य दिग्गज लगानीकर्ता जर्ज सोरोस, स्टेनली ड्रकनमिलर र वारेन बफेटको वार्षिक औसत रिटर्न २० प्रतिशतमात्रै रहेको छ। 

प्रतिवेदनअनुसार लामो अवधिमा ३० प्रतिशत औसत वार्षिक रिटर्न पाउने लगानीकर्ता कमै भेटिएका छन्। अनुसन्धान विश्लेषकहरुको अनुमान छ कि झुनझुनवालाको सफलता सिमन्सको भन्दा ठूलो छ किनकि सिमन्सले ६६ प्रतिशत रिटर्न प्राप्त गर्न विभिन्न विषयमा सयौँ पीएचडी होल्डरहरुलाई रोजगारी दिएका थिए। उनीहरुको काम अत्याधिक अस्थिर स्टक र तुलनात्मक रुपमा स्थिर स्टकको प्यट्रान अध्ययन गर्नु रहेको थियो। झुनझुनवालाले त्यस्तो केही गरेका थिएनन्। उनको सानो टोली थियो।

स्टक एक्सचेन्जमा उपलब्ध जानकारीअनुसार राकेश झुनझुनवालाको पोर्टफोलियोमा ३२ कम्पनीमा सेयर थिए। जसमा अनन्त राज, टाटा मोटर्स, टाइटन, फेडरल बैंक, नजरा, स्टार हेल्थजस्ता कम्पनी समावेश थिए।

झुनझुनवालाले कम्पाउन्डिङको शक्तिलाई राम्ररी बुझेका थिए। उदाहरणका लागि उनले टाइटन कम्पनीको सेयर २००३ बाट किन्न थाले। त्यतिबेला यसको मूल्य भारु. ३.८७ थियो। २०२२ अगस्ट १२ मा यो कम्पनीको सेयरमूल्य भारु २ हजार ४७२ पुगेको थियो। झुनझुनवालाले यो कम्पनीको सेयर होल्ड गर्नुका साथै बर्सेनि लगानी बढाउँदै गएका थिए। –एजेन्सी

दुई महिनाभित्रै ब्रोकरको संख्या ९३ पुर्याइनेछः रमेश हमाल

0

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश हमालले दुई महिनाभित्रै नयाँ लाइसेन्स वितरण गरेर ब्रोकरको संख्या ९३ पुर्याइने बताएका छन्। आज (बिहीबार) सेबोनको ३१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘एलओआई पाएका सबै कम्पनीलाई दुई महिनाभित्र लाइसेन्स वितरण गरेर ब्रोकरको संख्या ९३ पुर्याउँछौँं ।’ बोर्डका सबै कामलाई विद्युतीय तथा स्वचालित बनाउने योजना रहेको उनले बताए।

‘हाम्रा सबै काम अब ‘पेपरलेस’ बनाउँदै लग्ने छौँ’, उनले भने। साथै, लगानीकर्ताको क्षमता र चेतना बढाउन ‘क्यापिटल मार्केट इन्चिच्युट’ पनि बनाउने योजना बोर्डको रहेको उनले बताए

घट्यो सुनको भाउ

0

नेपाली बजार बिहीबार सुनको भाउ घटेको छ।

आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार १५० रुपैयाँ कायम भएको छ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ।

देशको सडकको आधा बजेट प्रधानमन्त्री, अर्थमन्त्री र देउवाको जिल्लामा

बजेट भाषण भयो जेठ १५ गते , सधाझै यो बर्षपनी ठुला नेताले आफ्नो जिल्लामा बजेट पार्ने काम जारी राखेका छन । तर यो पटक अचक्ली नै गरे ठुला नेताले बजेट बाडफाड गर्दा हेर्नुस् यो विवरण ।
बजेट आफ्नो जिल्लमा पार्नका लागि तयार पारीएको एउटा कार्यक्रम छ त्यो हो -वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम ।

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालय अन्तर्गत यो कार्यक्रम राखेर बजेट छुट्याएको छ भने प्रदेशमा दिएको सशर्त अनुदानमा पनि यो कार्यक्रम घुसाइएको छ ।

आफ्नो हातमा डाडु पन्यु भएसी के चाहियो र ? आफ्नो निर्बाचन क्षेत्रमा चाहिए जती बजेट खन्याइएको छ भने अन्य जिल्लामा भए चरालाई चारो छरेजसरी छरिएको छ ।
देशभरको यो कार्यक्रमको जम्मा बजेटको आधा रकमा भने तीन नेता प्रधानमन्त्री , अर्थमन्त्री र शेर बहादुर देउबाको जिल्लामा पठाईएको छ । हो, सडकको रकममा त्यस्तो गरिएको हो ।

यो कार्यक्रमका लागि भौतिक पूर्वाधार मन्त्रालयमा मात्र ५ अर्ब २० करोड ५७ लाख रुपैयाँ छुट्याइएको छ । तर यो रकमको झण्डै आधा रकम तीन नेता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चुनाव क्षेत्र भएको गोरखा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरा र अर्थमन्त्री डा. प्रकाशशरण महतको गृह जिल्ला नवाकोट गरी तीन जिल्लाका सडक आयोजनामा पारिएको छ ।

वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम शीर्षक अन्तर्गत ५ अर्बको कूल रकममध्ये तीन वटा जिल्लामा २३२ करोड र बाँकी ७४ जिल्लामा २६८ करोड रकम छुट्याइएको छ ।

सबभन्दा बढी रकम कांग्रेस सभापति देउवाको गृह जिल्ला डडेलधुराको सडकहरुमा एक अर्ब १० करोड रुपैयाँ बजेट परेको छ । वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रममा डडेलधुराका ८ वटा आयोजना छनोटमा परेका छन् । र, एउटै योजनामा १० करोडदेखि ३० करोडसम्म रकम छुट्याइएको छ ।

डडेल्धुराको दैजी लिप्ना जोगबुडा सडकका लागि ३० करोड छुट्याएका अर्थमन्त्री डा. महतले भत्काडा बडाल रेल सडक डडेलधुराका लागि १५ करोड र जोगबुडा सिर्स रुप्कलाल सडकका लागि १० करोड रकम छुट्याएको पाइएको छ ।

अर्थमन्त्री डा. महतले आफ्नो गृहजिल्ला नुवाकोटका २१ वटा सडकलाई वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत राखेर ६७ करोड रकम विनियोजन गरेका छन् । २१ वटै योजनामा एक करोड भन्दा कम रकम छुट्याइएको छैन । तीन करोड, पाँच करोड, सात करोडका योजना छन् । तीनपिप्ले कुमारी फाँटपौवा बेलकोटगढी सडकका लागि १० करोड छुट्याइएको छ । ठाँटीभञ्ज्याङ पुरानीडाँडा, बाहुन डाँडा कार्यालय हुँदै गोल्फु भञ्ज्याङ सडकका लागि १० करोड रुपैयाँ छुट्याइएको छ ।

प्रधानमन्त्री प्रचण्डको निर्वाचन क्षेत्रसमेत भएको जिल्ला गोरखामा वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत सबभन्दा धेरै ४१ वटा योजना पारिएको छ ।

३०–४० लाखदेखि ५ करोडसम्मका गरी ४१ वटा योजनाका लागि ५५ करोड रकम छुट्याइएको छ । बुटार मकैसिङ साँधीखोला सडकका लागि ३० लाख, नाम्जुङ घैरुङ फुजेल सडक कालोपत्रे शहीद लखन सडकका लागि ४० लाख छुट्याइएको छ ।

यसमा शहरी विकास मन्त्रालय र प्रदेशमा सशर्त अनुदान अन्तर्गत गएका बजेट जोड्न बाँकी छ ।

यसरी अनुचित रुपमा पावरको भरमा जम्मा बजेटको आधा रकम ठुला नेताले आफ्नो जिल्लामा लादा समानुपातिक बिकास गर्ने देशको लक्ष सोचाईमा मात्र सिमित हुने देखिन्छ ।
देश बिकास गर्ने नारा लगाएर सरकारमा पुगेसी सबै क्षेत्रको बिकास समान बिकास गर्नु राज्यको दाहित्व बिर्सिएमा देशमा फेरी बिद्रोहका स्वरहरु सुनिन सक्ने जानकारहरु बताउछन ।

कृषि विकास बैंकमा ठुलो सङ्ख्यामा कर्मचारी माग , १७९ जनालाई छानिने – पुरा हेर्नुस्

0

कृषि विकास बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारी माग गरेको छ।

उक्त बैंकले सूचना जारी गर्दै चौथो तहको सहायकदेखि नवौँ तहको अधिकृतसम्म १७९ जना कर्मचारी भर्ना दरखास्त आह्वान गरेको हो। बैंकले खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा कर्मचारी छान्नेगरी दरखास्त आहवान गरेको छ।

खुल्लातर्फ ९२ समेत १७९ कर्मचारी परिक्षाबाट छनोट हुने छन ।

इच्छुक उम्मेदवारले दरखास्त अनलाइनमार्फत पेस गर्नुपर्नेछ।

दरखास्त पेस गर्ने अन्तिम मिति असार ७ गतेसम्म रहेको छ। दोब्बर दस्तुर तिरी असार १४ गतेसम्म दरखास्त पेस गर्न सकिने बैंक ले जनाएको छ ।

आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ जारी गर्दै

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा आईपीओ जारी गर्न अनुमति दिएको छ।धितोपत्र बोर्डले अनुमती दिएसङै आईएमई लाइफ नेपालको बीमा क्षेत्रमा पहिलोपटक प्रिमियममा आईपीओ निष्कासन गर्ने कम्पनी भएको छ।

सेबोनले यो कम्पनीलाई चुक्तापुँजीको ३० प्रतिशतबराबरको आईपीओ बिक्री खुला गर्न अनुमति दिएको छ।

सेबोनको अनुमतिसँगै अब कम्पनीले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता आईपीओ बिक्री खुला गर्नेछ। कम्पनीले १०० अंकित दरमा १३६.९१ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २३६.९१ रुपैयाँ आईपीओ बिक्री खुला गर्नेछ।

कम्पनीले निवेदन दिँदा भने प्रतिकित्ता २७६ रुपैयाँमा आईपीओ बिक्रीको अनुमति मागेको थियो। जसमा १७६ रुपैयाँ प्रिमियम जोडिएको थियो। सेबोनले प्रिमियम मूल्य घटाएर १३६.९१ रुपैयाँ कायम गरेको हो।

कुल कित्तामध्ये ६ लाख कित्ता सेयर कर्मचारीहरुका लागि अंकित मूल्य १०० रुपैयाँमै छुट्याएको छ। बाँकी १ करोड १४ लाख कित्तामा सर्वसाधारण (कर्मचारी र सामूहिक लगानी कोषसहित)ले आवेदन दिन पाउनेछन्।

यो आईपीओ बिक्रीबाट कम्पनीले २ अर्ब ७६ करोड ७ लाख ६४ हजार रुपैयाँ जुटाउनेछ।

आइएमई लाइफको आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ।

सुनको भाउ बढ्यो

0

पाली बजारमा बुधबार पनि सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको छ। 

हिजो मंगलबार पनि सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। 

अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरेफेर गरिएको खबर झुट :अर्थ मन्त्रालय

0

आर्थिक वर्ष २०८०–८१ को आर्थिक विधेयक तर्जुमा कुनै पनि अनधिकृत व्यक्तिको संलग्नता नरहेको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ। 

अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरेफेर गरिएको खबर झुट छ अर्थ मन्त्रालय भन्छ ।

करका दर परिवर्तनमा अनधिकृत व्यक्तिको संलग्नतासम्बन्धी समाचारप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै एक प्रेस विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको हो।

‘बजेट तर्जुमा दिग्दर्शनले तोकेको पादधिकारीको उपस्थितिमा मात्र छलफल गरी आर्थिक विधेयकलाई अख्तियार प्राप्त पदाधिकारीले अन्तिम रुप दिएपश्चात् कम्प्युटर टाइप, हार्मोनाइज्ड कोड मिलान तथा आर्थिक विधेयकको शुद्धाशुद्धि परीक्षण गर्न आवश्यक कर्मचारी संलग्न गराई जिम्मेवारीपूर्वक तोकिएका कार्य गर्ने गराउने गरिएको हो’, विज्ञप्तिमा भनिएको छ, ‘यो स्थापित अभ्यास हो।’

समाचारमा नाम उल्लेख गरिएका रामकृष्ण श्रेष्ठ निजामती सेवामा लामो समय भन्सार विभागमा रही आर्थिक विधेयकको मस्यौदा टाइप गर्ने काम गरिरहेका सेवा निवृत्त कर्मचारी रहेको विज्ञप्तिमा जनाइएको छ। 

‘निजको कामको अनुभव र दक्षताका कारण सेवा निवृत्तपछि पनि आर्थिक विधेयकको मस्यौदा टाइप गर्ने काममा लगाइँदै आएको हो’, विज्ञप्तिमा भनिएको छ, ‘चालु आर्थिक वर्षमा पनि निजलाई सूचना प्रविधि सहायक कर्मचारीका रुपमा करारमा नियुक्त गरिएको र विगतका वर्षमा जस्तै आर्थिक विधेयक २०८०–८१ को मस्यौदा टाइप गर्ने कार्यमा संलग्न गराइएको ब्यहोरा जानकारी गराइन्छ।’

रु. ९००ले महँगियो सुन

0

नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ। आज सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार सुनको भाउ स्थिर थियो। प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो।