34.7 C
Nepal
Tuesday, April 21, 2026
Home Blog Page 9

मेची भन्सार हुँदै तीन महिनामा १२ अर्बभन्दा बढीको आयात

0

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा मेची भन्सार कार्यालयबाट १२ अर्ब २८ करोड ३० लाख रुपैयाँ बराबरका मालवस्तु आयात भएका छन्।

यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब ४४ करोड २७ लाख रुपैयाँ (१३.३१ प्रतिशत) ले बढी हो।

गत आव २०८१/८२ को पहिलो त्रैमासमा काँकडभिट्टा नाकाबाट १० अर्ब ८४ करोड ३ लाख रुपैयाँ बराबरका वस्तु आयात भएका थिए।

यस अवधिमा निर्यात भने घटेको छ। समीक्षा अवधिमा मेची नाकाबाट ४ अर्ब ८० करोड ३९ लाख रुपैयाँ बराबरका सामान निर्यात भएका छन्, जुन अघिल्लो आवको सोही अवधिको ६ अर्ब ८ करोड ६९ लाख रुपैयाँ भन्दा २१.०८ प्रतिशतले कम हो।

राजस्व संकलनका दृष्टिले भने यो कार्यालयले राम्रो प्रदर्शन गरेको छ।

पहिलो तीन महिनामा कार्यालयले ४ अर्ब १५ करोड २० लाख ८ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.६९ प्रतिशतले बढी हो।

पहिलो त्रैमासमा १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति, २४१ मेगावाट थपिँदै

0

काठमाडौं । विद्युत् विकास विभागले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० वटा जलविद्युत् आयोजनालाई निर्माण अनुमति प्रदान गरेको छ। ती आयोजनाको संयुक्त उत्पादन क्षमता २४१.५० मेगावाट बराबर रहेको विभागले जनाएको छ।

विभागका अनुसार हालसम्म कुल २६६ जलविद्युत् आयोजनाले निर्माण अनुमतिपत्र प्राप्त गरेका छन्, जसको संयुक्त क्षमता १० हजार ८२५ मेगावाट पुगेको छ।

नयाँ अनुमति प्राप्त आयोजनाहरू

विभागले चालु आवको असोज मसान्तसम्म लापा खोला (४.७२ मेगावाट), लोअर बरुण (१३२ मेगावाट), म्याग्दी खोला बी (१२.५० मेगावाट), तल्लो लिखु क्यासकेड (६ मेगावाट), माथिल्लो मेलम्ची (४.९५ मेगावाट), सुपर सभा खोला (९.५५ मेगावाट), लोअर मेलम्ची खोला (४.९६ मेगावाट), अप्पर सेती–१ (१३ मेगावाट), होङ्गु खोला (२८.९० मेगावाट) र इन्दुवा खोला (२४.९२ मेगावाट)लाई निर्माण अनुमति दिएको हो।

सर्वेक्षण र निर्माण अनुमति प्रक्रियामा रहेका परियोजना

विभागले हालसम्म १८५ आयोजनालाई सर्वेक्षणको अनुमति दिएको छ। यस्तै, थप ५९ वटा आयोजनाले निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका छन्, जसको संयुक्त क्षमता १० हजार ५३२ मेगावाट रहेको छ।

सौर्य ऊर्जा परियोजना

सौर्य ऊर्जातर्फ १२ आयोजनाले निर्माण अनुमति पाइसकेका छन्, जसको संयुक्त क्षमता ८४ मेगावाट रहेको छ। साथै, ३ वटा सौर्य परियोजनाले (कुल १५ मेगावाट) निर्माण अनुमतिका लागि आवेदन दिएका छन्।

अनुमति खारेज

विभागका अनुसार अनुमति लिएर पनि निर्माण कार्य अघि नबढाएका १५ आयोजनाको अनुमतिपत्र खारेज गरिएको छ।

विभागले जारी गरेको विवरणअनुसार, चालु वर्षको पहिलो त्रैमासमै जलविद्युत् क्षेत्रमा उल्लेख्य प्रगति देखिएको छ, जसले आगामी वर्षहरूमा देशको ऊर्जा उत्पादन क्षमता थप सुदृढ हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री कार्की छठपछि मन्त्रिपरिषद् विस्तारको तयारीमा

0

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले छठ पर्व सकिनासाथ मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेकी छिन्। लामो समयदेखि अपूर्ण रहेको मन्त्रिपरिषद्मा नयाँ मन्त्रीहरूको समावेशबारे अन्तिम चरणको छलफल भइरहेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिएका छन्।

मंगलबार अपरान्हदेखि रातिसम्म चलेको सरकार र राजनीतिक दलका प्रतिनिधिहरूबीचको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता खरेलले भने, “प्रधानमन्त्रीज्यूले पनि सरकार विस्तारबारे केही सोचिरहनुभएको छ र सोअनुसार तयारी भइरहेको जस्तो लाग्छ। सम्भवतः तिहार र छठलगत्तै बिस्तार हुनेछ।”

प्रधानमन्त्री कार्कीले यसअघि पनि मन्त्रिपरिषद् विस्तारको प्रयास गरेकी थिइन् तर प्रस्तावित केही नामहरू विवादित भएपछि प्रक्रिया रोकिएको थियो। तर हाल विभिन्न दल र समूहहरूसँगको छलफल अन्तिम चरणमा पुगेकोले यसपटक मन्त्रिपरिषद् विस्तारको सम्भावना अत्यधिक रहेको बताइएको छ।

सरकारमा अहिलेसम्म जेनजी प्रतिनिधिहरूको सहभागिता नहुँदा आलोचना हुँदै आएको छ। स्रोतका अनुसार, आगामी विस्तारमा विभिन्न राजनीतिक दल र नागरिक समाजका व्यक्तिहरूलाई समेत समावेश गरिने सम्भावना छ।

नयाँ मन्त्रीहरूको नाम र मन्त्रालयको बाँडफाँडबारे भने सरकारका प्रवक्ता खरेलले केही खुलासा गरेका छैनन्। तर राजनीतिक वृत्तमा छठपछि सरकार विस्तारको तयारीलाई नयाँ राजनीतिक सन्तुलनको संकेतका रूपमा हेरिएको छ।

युक्रेनले रुसको केमिकल प्लान्टमा बेलायतको ‘स्टोर्म स्याडो’ मिसाइलले गर्यो आक्रमण

0

युक्रेनी सेनाले रुसी भूभागभित्र रहेको एक रासायनिक प्लान्टमा बेलायत निर्मित ‘स्टोर्म श्याडो’ मिसाइल प्रयोग गरी आक्रमण गरेको दाबी गरेको छ।

सेनाका जनरल स्टाफका अनुसार उक्त आक्रमण मंगलबार गरिएको हो, जसमा मिसाइल र हवाई हमलाको संयुक्त अपरेशन सञ्चालन गरिएको थियो। सेनाले सामाजिक सञ्जाल एक्समा लेखेको छ— “ब्रायान्स्क रासायनिक प्लान्ट, जसमा बारुद, विस्फोटक पदार्थ र रकेट इन्धन उत्पादन हुन्छ, रुसको सैन्य औद्योगिक उत्पादनको प्रमुख आधार हो। यो युक्रेनी शहरहरूमा आक्रमण गर्न प्रयोग हुने प्रमुख स्रोत हो।”

युक्रेनी पक्षले यो आक्रमणलाई ‘सफल हमला’को संज्ञा दिएको छ र रुसी वायु रक्षा प्रणाली पार गर्दै मिसाइल लक्ष्यमा लागेको दाबी गरेको छ। हाल आक्रमणबाट भएको क्षतिको मूल्याङ्कन भइरहेको जनाइएको छ।

यस विषयमा रुसबाट तत्काल आधिकारिक प्रतिक्रिया आएको छैन। यद्यपि, रुसले पश्चिमी देशहरूलाई युक्रेनलाई लामो दूरीका हतियार उपलब्ध नगराउन चेतावनी दिँदै आएको छ।

‘स्टोर्म श्याडो’ मिसाइल बेलायत र फ्रान्सले संयुक्त रूपमा विकास गरेको लामो दूरीको हतियार हो, जसको मारक क्षमता करिब २५० किलोमिटर (१५५ माइल) रहेको बताइन्छ।

विश्लेषकहरूको भनाइमा, यस्तो आक्रमणले युक्रेनको प्रतिरक्षा रणनीति थप आक्रामक दिशामा गएको संकेत गर्छ, जसले युरोपमा बढ्दो तनावलाई अझ चर्काउन सक्छ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९% लाभांश वितरण गर्ने

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले लाभांश घोषणा गरेको छ ।

शुक्रबार बिहान बसेको बैंकको सञ्चालक समितिको ४७६ औं बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आफ्ना सेयरधनीलाई १९ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।

बैंकले घोषणा गरेको १९ प्रतिशत लाभांश सबै नगद(करसहित) रहेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।

नागरिक स्टक डिलरले डाक्यो एजीएम

0

नागरिक स्टक डिलर कम्पनी लिमिटेडले आफ्नो छैठौं वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको असोज २९ गते बसेको बैठकले वार्षिक साधारणसभा डाकेको हो ।

बैठकले उक्त सभा आगामी कात्तिक ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नयाँबानेश्वरस्थित नागरिक स्टक डिलरको सभाहलमा बिहान ८ बजेबाट सुरु हुनेछ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।

यस्तै, लेखाप्रीक्षकको प्रतिवेदनसहितको असार मसान्तसम्मको वित्तीय विवरण(वासलात,नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण) लगायत वार्षिक विवरणसँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

युनिलिभर नेपालले ३२औं वार्षिक साधारण सभा कात्तिक २५ गते आयोजना गर्ने, प्रतिकित्ता रु. १,८४२ नगद लाभांश प्रस्ताव

0

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आफ्नो ३२औं वार्षिक साधारण सभा आगामी कात्तिक २५ गते आयोजना गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभा दिउँसो ४:३० बजे सुरु हुनेगरी कार्यक्रम तय गरेको हो।

सभामा आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। कम्पनीले गत आवको मुनाफाबाट प्रतिकित्ता १,८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस गरेको छ।

यससँगै कम्पनीको संस्थापक सेयरधनीको नाम सिबक्रिम होल्डीङ्स प्रा. लि. बाट आईजे ग्रुप होल्डीङ्स प्रा. लि. मा परिवर्तन भएको व्यहोरा अभिलेख गर्ने र सो बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

सभामा २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र सञ्चालक समिति तथा लेखा परीक्षकको प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ। साथै, चालु आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय पनि सभाबाट गरिनेछ।

त्यस्तै, कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सामाजिक तथा सामुदायिक परियोजनाहरूमा आर्थिक सहयोगका लागि प्रस्ताव समेत अघि सारेको छ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार, कात्तिक १० गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्रै सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

युनिलिभर नेपाल देशको प्रमुख उपभोक्ता वस्तु उत्पादन गर्ने कम्पनी हो, जसले विगतका वर्षहरूमा पनि निरन्तर उच्च लाभांश वितरण गर्दै लगानीकर्ताको विश्वास कायम राख्दै आएको छ।

हिमालयन डिष्टिलरीले २५ प्रतिशत लाभांश घोषणा, साधारण सभा कात्तिक ३० गते

0

हिमालयन डिष्टिलरी लिमिटेडले लगानीकर्ताका लागि आकर्षक लाभांश घोषणा गरेको छ। असोज ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई कुल २५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैठकका अनुसार कम्पनीले सेयरधनीहरूलाई चुक्तापूँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने प्रस्ताव गरेको छ।

कम्पनीद्वारा प्रस्तावित लाभांश पारित गर्नका लागि साधारण सभा आगामी कात्तिक ३० गते बिहान १० बजे कम्पनीको विरगञ्जस्थित रजिष्टर्ड कार्यालयमा आयोजना हुने भएको छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार, कात्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्रै साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

हिमालयन डिष्टिलरी नेपालको अग्रणी मदिरा उत्पादक कम्पनी हो, जसले पछिल्ला वर्षहरूमा लगातार राम्रो मुनाफा कमाउँदै लगानीकर्तालाई आकर्षक प्रतिफल दिँदै आएको छ।

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि ब्याजदर घटाए, औसत दर ५.२० प्रतिशतमा सीमित

काठमाडौं । कात्तिक महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। अधिकांश बैंकले ब्याजदर घटाएका कारण औसत ब्याजदर असोज महिनाको तुलनामा घटेर ५.२० प्रतिशतमा सीमित भएको छ। असोज महिनामा औसत ब्याजदर ५.४६ प्रतिशत थियो।

२० वटा वाणिज्य बैंकमध्ये १४ वटाले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर घटाएका छन् भने ६ वटाले स्थिर राखेका छन्।

प्रमुख बैंकहरूको ब्याजदर स्थिति

एनआईसी एशिया बैंक
कात्तिक महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ५.७५% र संस्थागततर्फ ४.५% ब्याजदर निर्धारण। अघिल्लो महिनामा क्रमशः ६% र ५% थियो।

नेपाल बैंक लिमिटेड
व्यक्तिगत ५.२५% र संस्थागत ३.२५% ब्याजदर स्थिर।

प्रभु बैंक
व्यक्तिगत ४.९५% र संस्थागत २.७५% ब्याजदर। अघिल्लो महिनामा क्रमशः ५.३५% र ३.२५% थियो।

एभरेष्ट बैंक
व्यक्तिगत ५% र संस्थागत ४% ब्याजदर। अघिल्लो महिनामा ५.२५% र ४.२५% थियो।

सिटिजन्स इन्टरनेशनल बैंक
व्यक्तिगत ५% र संस्थागत ३% ब्याजदर। अघिल्लो महिनामा ५.२५% र ३% थियो।

राष्ट्रिय वाणिज्य बैंक
व्यक्तिगत ५.५% र संस्थागत ४% ब्याजदर — स्थिर।

सानिमा बैंक
व्यक्तिगत ५.१४% र संस्थागत ३.४% ब्याजदर। अघिल्लो महिनामा ५.२५% र ३.५% थियो।

प्राइम कमर्सियल बैंक
व्यक्तिगत ५% र संस्थागत २.७५% ब्याजदर। अघिल्लो महिनामा ५.५% थियो।

नेपाल एसबीआई बैंक
व्यक्तिगत ५% र संस्थागत ४% ब्याजदर। अघिल्लो महिनामा ५.१८% र ४.१८% थियो।

ग्लोबल आइएमई बैंक
व्यक्तिगत ६% र संस्थागत ४.२५% ब्याजदर — स्थिर।

सिद्धार्थ बैंक
व्यक्तिगत ५.५% र संस्थागत ४% ब्याजदर — स्थिर।

एनएमबी बैंक
व्यक्तिगत ५% र संस्थागत ४% ब्याजदर। अघिल्लो महिनामा क्रमशः ६% र ५% थियो।

हिमालयन बैंक
व्यक्तिगत ६% स्थिर, संस्थागत घटाएर ४.५%।

कृषि विकास बैंक
व्यक्तिगत ४.९५% र संस्थागत २.७५% ब्याजदर। अघिल्लो महिनामा ५.०५% र ३% थियो।

माछापुच्छ्रे बैंक
व्यक्तिगत ५% र संस्थागत ३% ब्याजदर। अघिल्लो महिनामा ६% र ४% थियो।

कुमारी बैंक
व्यक्तिगत ५.०१% र संस्थागत ४.०१% ब्याजदर — स्थिर।

स्ट्याण्डर्ड चार्टर्ड बैंक
व्यक्तिगत ५% र संस्थागत २.७५% ब्याजदर। अघिल्लो महिनामा व्यक्तिगत ५.१८% थियो।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
व्यक्तिगत ५% र संस्थागत ४.२५% ब्याजदर। अघिल्लो महिनामा ५.२५% र ४.२५% थियो।

लक्ष्मी सनराइज बैंक
व्यक्तिगत ५% र संस्थागत ४% ब्याजदर। अघिल्लो महिनामा व्यक्तिगत ५.२५% थियो।

नबिल बैंक
व्यक्तिगत ४.९५% र संस्थागत ३.९२% ब्याजदर। अघिल्लो महिनामा क्रमशः ५.५% र ४.०५% थियो।


🔹 औसत दर घट्नुको कारण

बैंकहरूका अनुसार बजारमा तरलता सहज हुनु र ऋण माग कम हुनु मुख्य कारण हो। राष्ट्र बैंकको मौद्रिक नीतिले पनि ब्याजदर घटाउने वातावरण तयार पारेको छ।

निष्कर्ष:
असोजको तुलनामा कात्तिकमा वाणिज्य बैंकहरूको औसत ब्याजदर घट्दै ५.२० प्रतिशतमा सीमित भएको छ। आगामी महिनामा पनि निक्षेप ब्याजदरमा स्थायित्व रहने अपेक्षा बैंकिङ क्षेत्रले व्यक्त गरेको छ।

प्रभु महालक्ष्मी लाइफको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

0

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।  

आजदेखि बिक्रीमा राखिएको सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि सूचना जारी भएको ३५ दिभित्र आवेदिन दिनु पर्नेछ । हाल कायम संस्थापकहरुले काठमाण्डौको कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।  

निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीका लागि बिक्री गरिने कम्पनीले जनाएको छ ।