काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले छठ पर्व सकिनासाथ मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेकी छिन्। लामो समयदेखि अपूर्ण रहेको मन्त्रिपरिषद्मा नयाँ मन्त्रीहरूको समावेशबारे अन्तिम चरणको छलफल भइरहेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिएका छन्।
मंगलबार अपरान्हदेखि रातिसम्म चलेको सरकार र राजनीतिक दलका प्रतिनिधिहरूबीचको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता खरेलले भने, “प्रधानमन्त्रीज्यूले पनि सरकार विस्तारबारे केही सोचिरहनुभएको छ र सोअनुसार तयारी भइरहेको जस्तो लाग्छ। सम्भवतः तिहार र छठलगत्तै बिस्तार हुनेछ।”
प्रधानमन्त्री कार्कीले यसअघि पनि मन्त्रिपरिषद् विस्तारको प्रयास गरेकी थिइन् तर प्रस्तावित केही नामहरू विवादित भएपछि प्रक्रिया रोकिएको थियो। तर हाल विभिन्न दल र समूहहरूसँगको छलफल अन्तिम चरणमा पुगेकोले यसपटक मन्त्रिपरिषद् विस्तारको सम्भावना अत्यधिक रहेको बताइएको छ।
सरकारमा अहिलेसम्म जेनजी प्रतिनिधिहरूको सहभागिता नहुँदा आलोचना हुँदै आएको छ। स्रोतका अनुसार, आगामी विस्तारमा विभिन्न राजनीतिक दल र नागरिक समाजका व्यक्तिहरूलाई समेत समावेश गरिने सम्भावना छ।
नयाँ मन्त्रीहरूको नाम र मन्त्रालयको बाँडफाँडबारे भने सरकारका प्रवक्ता खरेलले केही खुलासा गरेका छैनन्। तर राजनीतिक वृत्तमा छठपछि सरकार विस्तारको तयारीलाई नयाँ राजनीतिक सन्तुलनको संकेतका रूपमा हेरिएको छ।




