19.2 C
Nepal
Saturday, April 18, 2026
Home Blog Page 285

दुर्घटनामा परेका चार हेलिकप्टरको बीमा सगरमाथा लुम्बिनीमा, ६० करोड भन्दा माथिको दाबी तिर्नु पर्ने

0

लगातार दुर्घटनामा परेका चार वटै हेलिकप्टरको बीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमै रहेको छ । चार वटा दुर्घटना मध्ये तीन वटा दुर्घटना मात्रै सञ्चार माध्यममा आए । तर हेलि एभरेष्टकै एउटा दुर्घटना भने सार्वजनिक भएन । उक्त दुर्घटनामा कम्पनीले साढे चार करोड रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ ।

आज दुर्घटनामा परेको सिम्रिक एयरको (9N-AKF) हेलिकप्टरको बीमा पनि सगरथामै रहेको छ । आज भएको दुर्घटनामा अहिलेसम्म एक जनाको मृत्‍यु भाईसकेको छ । यस भन्दा अगाडीका तीन वटै दुर्घटनामा पनि कुनै मानविय क्षति भएन । ह्याम्स हस्पिटलबाट भरतपुर उडानका क्रममा ‘टेल रोटर ब्लेड’ खुस्किएपछि एयर डाइनेष्टीको (9N-ANA) हेलिकप्टर दुर्घटनामा परेको थियो । त्यस्तै हेली एभरेष्टको ‘9N-AKG’ हेलिकप्टर धौलागिरी आधार शिविर नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

चार वटै बीमा साविक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गराएको थियो । मर्जर पछि सगरमाथा लुम्बिनी बन्नेको कम्पनीमा लगातार हेलिकम्पटरको दाबी आउने क्रम बढेको छ । लगातार दुर्घटनामा पर्दा कम्पनीले एक अर्ब भन्दा बढीको दाबी भुक्तानी गर्नु पर्ने अवस्था आएको छ ।
सगरमाथाले जति पनि हेलिकप्टरको बीमा गराएको छ ति सबैमा ०.२५ प्रतिशत मात्रै रिटेन्सन बोकेको छ । कम्पनीले एक प्रतिशत मध्ये आफुले ०.२५ प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीले ०.७५ प्रतिशत जोखिम बहन गर्ने गरेका अवस्था छ । बाँकी ९९ प्रतिशत जोखिम विदेशी पुनर्बीमा कम्पनीहरुले बहन गर्ने छन ।

एयर डाइनेष्टीको (9N-ANA) हेलिकप्टरको बीमाङ्क रकम ८ लाख अमेरिकी डलर अर्थात १० करोड ३९ लाख रुपैयाँ मध्ये ६ करोड भन्दा माथिको दाबी भुक्तानी गर्नु पर्ने प्रारम्भिक आकलन छ । हेली एभरेष्टको ‘9N-AKG’ हेलिकप्टरको बीमाङ्क रकम भने २३ लाख डलर अर्थात २९ करोड ८७ लाख रुपैयाँ बराबरको रहेको छ । यो पुर्ण रुपमा क्षति भएकोले लगभग बीमाङ्क रकम हाराहारो दाबी भुक्तानी गर्नु पर्ने हुन सक्छ । दुबै दुर्घटनामा मानवीय क्षति भएन ।

२ लाख घुस लिन महोत्तरीदेखि काठमाडौंमा, रंगेहात समात्यो अख्तियारले

0

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख रुपैयाँ घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल प्रहरी नायव निरीक्षक विनोद विष्टलाई प्रकाउ परेको छ ।

उनलाई काठमाडौंको नयाँ बानेश्वरस्थित एक रेष्टुरेन्टबाट रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारको टोलीले उनको साथबाट ५० हजार नगद र डेढलाख रुपैयाँको चेक वरामद गरेको छ ।

भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरेको भन्दै सेवाग्राहीसँग घुस लिन उनी महोत्तरीबाट काठमाडौं आएका अख्तियार श्रोतले जनाएको छ ।

हेलिकप्टर दुर्घटना  : १ जनाको मृत्यु, चारै जना घाइतेलाई काठमाडौं ल्याइयो

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता भुवनबाबु खड्काले जानकारी दिए । मृतक गुरुङले हेलिकप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए ।

माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते चारै जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापालाई घटनास्थलबाटै उद्धार गरेर काठमाडौं ल्याइएको हो ।

विक्रम शंकरलाई सुरुमा उपचारका लागि जिल्ला अस्पताल संखुवासभामा लगे पनि त्यहाँ उपचार हुन नसकेपछि हेलिकप्टरबाटै काठमाडौं ल्याइएको हो ।

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

0

 गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदबाट विश्वासको मत पाएका छन् ।

गत १४ गते नियुक्त भएर १५ गते शपथ लिएका पाण्डेले मागेको विश्वासको मतको पक्षमा ३५ जनाले मत दिएका छन् भने विपक्षमा २२ मत परेको छ । राप्रपा तटस्थ बसेको छ ।

उनलाई आफ्नै दल कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङसहित ३५ सदस्यले विश्वासको मत दिएका थिए ।

नेकपा एमालेका २२ सांसले विपक्षमा मत हालेका छन् । राप्रपाका २ सांसद भने तटस्थ बसेको छ ।

बहालवाला सांसदलाई बाटोबाटै हत्कडी लगाउनु पर्दैन : अध्यक्ष ओली

0

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री भइसकेको बहालवाला सांसदलाई प्रहरीले बाटोबाटै समातेर हत्कडी लगाउन खोजेको भन्दै सो घटना रहस्यमय रहेको भएको आरोप लगाएका छन् । उनले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने सन्दर्भमा प्रहरीले नियन्त्रणमा लिन खोजिरहेका एमाले सचिव टोपबहादुर रायमाझीका सन्दर्भमा पटक–पटक सांसद, मन्त्री र उपप्रधानमन्त्री भइसकेको बहालवाला सांसदलाई बाटोबाटै हत्कडी लगाउनु आवश्यक नरहेको बताए ।

‘एउटा बहालवाला सांसद, पटक पटक मन्त्री, उपप्रधानमन्त्री भइसकेको मान्छेलाई बाटोबाटै हत्कडी लगाउनुपर्दैन, ऊ भागेर कतै जाँदैन, त्यसकारण यो निकै रहस्यमय छ,’ उनले भने ।

बिहीबार सिंहदरबार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई त्यस घटनाबारे ध्यानाकर्षण गराएका अध्यक्ष ओलीले सो प्रकरणमा दोषीलाई छोड्न नहुने, तर निर्दोषलाई फसाउन पनि नदिइने बताए ।

‘यो प्रकरणमा को–को दोषी हुन् ? नियतवश तानिएको हो कि तनाइएको हो ? भनेर हामी पनि अध्ययन गर्दैछौँ,’ उनले भने, ‘यसमा निदोष पर्नु हुँदैन, तर दोषी उम्किनु हुँदैन । निर्दोषलाई फसाउन खोजियो भने हामी चुप लागेर बस्दैनौँ ।’

तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको छ भने छोरा सन्दीपलाई बुधबार साँझ प्रहरीले बुटवलबाट नियन्त्रणमा लिएको छ ।

नाइकेहरू केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परेपछि उनीहरूबाट बरामद प्रमाण तथा बयानका आधारमा प्रहरीले थप अनुसन्धान गरेको हो । प्रहरीले आरोपितहरूको बैंकिङ कारोबारलाई पनि पछ्याउँदै अनुसन्धान गरिरहेको छ ।

सुनको मूल्य हालसम्मकै उच्च

0

बिहीबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको छ । यसअघि गत २२ चैतमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको थियो ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा खरिद बिक्री भएको थियो । बिहीबार १ हजार २०० रुपैयाँले सुनको भाउ बढेको हो ।

महासंघका अनुसार बिहीबार तेजावी सुनको प्रतितोला मूल्य १ लाख ११ हजार २५० रूपैयाँ तोकिएको छ ।

बिहीबार चाँदीको मूल्य २० रुपैयाँले वृद्धि भएको छ । बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार ४४५ रुपैयाँ तोकिएको छ । बुधबार चाँदीको प्रतितोला मूल्य १ हजार ४२५ रुपैयाँ तोकिएको थियो ।

हत्या अभियोगमा फरार सांसद कोइरी निलम्बित

सभामुख देवराज घिमिरले हत्या अभियोगमा फरार रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीलाई सांसद पदबाट निलम्बन गरेका छन् । प्रहरीले फरार रहेको पत्र पठाएपछि सभामुख घिमिरेले कोइरीलाई निलम्बन गरेका हुन् । प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम उनलाई निलम्बन गरिएको सभामुख निकट स्रोतले जनाएको छ ।

प्रतिनिधिसभाको बैठक नचलेकाले सभामुखको निर्देशनअनुसार संघीय संसद् सचिवालयको सूचना पाटीमा निलम्बनसम्बन्धी सूचना टाँसिदैछ । ‘सभामुखले निलम्बनको टिप्पणीमा सदर गरिसक्नु भएको छ सूचना टाँस्न बाँकी छ,’ स्रोतले भन्यो ।

मोदी ईनर्जीको ५९ लाख ९५ हजार कित्ताको आईपीओ आज देखि खुला

0

मोदी ईनर्जी लिमिटेडको आईपीओ आज वैशाख १९ गतेदेखि सर्वसाधारण लगानीकर्ताको लागि निष्काशन खुला भएको छ।

यस अघि यस कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरि आईपीओ बाँडफाँट गरिसकेको छ।

कम्पनीले आफ्नो जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १५ प्रतिशत अर्थात ४३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४३ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो। यस मध्य ४ करोड ३५ लाख रुपैयाँ बराबरको ४ लाख ३५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो भने ५ प्रतिशत अर्थात २ लाख १७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ८७ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको थियो।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुबाट आवेदन नपरेको २० लाख ९५ हजार ६१० कित्ता सेयर पनि थप गर्दै ५९ लाख ९५ हजार ४२० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

युएइद्वारा नेपाललाई ११८ रनको लक्ष्य, नेपाल ब्याटिङ गर्दै

0

एसीसी प्रिमियर कपको फाइनलमा यूएई ११७ रन बनाएर ३३.१ ओभरमै अलआउट भएको छ ।

यूएईका जुनैद सिद्दिकी ललितको बलमा मिडविकेट क्षेत्रमा कुशल भुर्तेलबाट क्याच आउट भएसँगै यूएई ११७ रनमै समेटिएको हो ।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाका कारण फाइनल खेल प्रभावित बनेपछि बाँकी खेल आज भएको हो । दुई पटक वर्षाले प्रभावित खेलमा यूएईले ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल स्थगित भएको थियो । आज त्यहीबाट पुनः खेल सुरु भएको थियो । यूएईले बाँकी खेलमा ११ रन थपेर अलआउट भयो ।

२८औं ओभरमा नेपालका ललित राजवंशीले लगातार दुई विकेट लिँदा यूएई अलआउट नजिक पुगेको थियो । आज ललितले त्यहीबाट बलिङ गरेर यूएईलाई अलआउट गरे । तर ह्याट्रिक गर्नबाट चुके ।

अहिले नेपालले ब्याटिङ सुरु गरेको छ । आज पनि वर्षाको सम्भावना रहेकाले नियमित खेलमा नतिजा नआएमा सुपर ओभरको विकल्प रहने छ । पहिलो सुपर ओभर बराबरी भए दोस्रो सुपर ओभर पनि खेलाइनेछ ।

यदि सुपर ओभर पनि सम्भव नभएमा आईसीसी वरीयताको आधारमा अगाडि रहेकाले नेपाल च्याम्पियन बन्नेछ ।

प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने छ ।

१६ वटा कम्पनीलाई ब्रोकरको लाइसेन्स दिने धितोपत्र बोर्डको निर्णय (नामावलीसहित)

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले १६ वटा कम्पनीलाई आशयपत्र (एलओआई) दिएको छ । सोमबार बसेको बोर्डको सञ्चालक समितिको बैठकले नयाँ ब्रोकरका लागि आवेदन दिएका कम्पनीमध्ये १६ कम्पनीलाई आशयपत्र दिएको छ ।

अहिले बजारमा ५० वटा कम्पनीले कारोबार गरिहेका छन् । १६ वटा ब्रोकर कम्पनीले आशयपत्र पाएसँगै ६६ कम्पनीले कारोबार गर्ने भएका छन् ।

आज आशयपत्र पाउने कम्पनीहरु निम्न छन् :

१. नबिल सेक्युरिटिज – धितोपत्र ब्यापारी _स्टक डिलर)
२. मेघा स्टक मार्केट – पूर्ण कार्य गर्ने धितोपत्र दलाल
३. हिमालयन ब्रोकेज कम्पनी – सिमित कार्य गर्ने धितोपत्र दलाल
४. सीबिआईएल सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
५. केबीएल सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
६. एनएमबि सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
७. आरविवि सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
८. सानिमा सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
९. इन्डेक्स सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
१०. सन् सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
११. क्यापिटल म्याक्स सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
१२. भोले गणेश सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
१३. इन्फिनिटी सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
१४. आकाश भैरव सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
१५. एलिट स्टक हाउस – सिमित कार्य गर्ने धितोपत्र दलाल
१६. एसपीएसएस सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल