सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी ४६ करोड ९२ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २ करोड ६२ लाख रुपैयाँ नाफामा रहेको थियो ।
कम्पनी चौथो त्रैमाससम्म १ अर्ब ६३ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५.२२ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले १ अर्ब ७३ करोड रुपैयाँ आर्जन गरेको थियो । कम्पनीले ६ लाख २१ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ ।
इन्धनको मुल्यमा भएको अत्याधिक वृद्धिको निरन्तरता, कोइलाको मूल्यमा वृद्धि, चर्को बैक व्याजदर, भौतिक विकास निर्माणमा बजेट खर्च कम हुनु, बजारमा प्रतिषपर्धा तथा विद्यमान आर्थिक मन्दिको कारण घरेलू खपत न्युन हुनु आदि कारणले उत्पादन लागत बढ्न गएको तर त्यसको तुलनामा उत्पादनले उचित बजार मुल्य पाउन नसकेका कारण कम्पनी घाटामा गएको कम्पनीले जनाएको छ । यस्तो परिप्रेक्षमा यसको सामना गर्न विद्यमान ग्राहकको संरक्षण गर्दै सम्भावित ग्राहक तथा ग्राहक क्षेत्रको पहिचान गरी त्यस क्षेत्रमा आफ्नो बजार बिस्तार गर्ने नीति लिईएको कम्पनीले जनाएको छ ।
कम्पनीको सञ्चालन मुनाफा १३ करोड ४६ लाख रुपैयाँले ऋणात्मक छ ।
कम्पनीको रिजर्भको आकार २९ करोड २१ लाख रुपैयाँ कायम भएको छ । यस्तै कम्पनीले सेक्युरिटी प्रिमियममा १ अर्ब ६५ करोड रुपैयाँ सञ्चित रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १५.२६ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १६३.२४,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३९८.७८ रुपैयाँ र तरलता अनुपात १.०८ प्रतिशत रहेको छ ।




