पूँजीकोष टाइट हुँदा व्यवसाय बिस्तार गर्न नसक्ने अवस्थामा पुगेका बैंक तथा वित्तीय संस्थाका लागि राष्टबैंकले सहज नीतिगत व्यवस्था गरेपछि कामना सेवा विकास बैंक सो व्यवस्थाअनुसार अग्राधिकार सेयर जारी गर्ने पहिलो वित्तीय संस्था हुने भएको छ ।
कम्पनीको असार १७ गते बसेको सञ्चालक समितिको बैठकले ९ प्रतिशतका दरले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
कम्पनीले आव २०८०/८१ को आगामी वार्षिक साधारण सभाबाट तथा नेपाल राष्ट्र बैंकलगायत नियमनकारी निकायको स्वीकृति प्राप्त भएको खण्डमा १०० रुपैयाँका दरले ३५ लाख इकाई अर्थात् ३५ करोड रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार ९ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने गरि यी सेयर निष्काशन गरिने छ ।