नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी बक्यौता उठाउन पुनः ताकेता गरेको छ । प्राधिकरणले बक्यौता तिर्न बाँकी ६१ वटा उद्योगीहरूलाई पत्र काट्दै १५ दिनभित्र बक्यौता तिर्न ताकेता गरेको हो ।
प्राधिकरणले २५ प्रतिशत थप दस्तुर जोडेर वक्यौता तिर्न भनेको छ । प्राधिकरणलाई उद्योगीहरुले तिर्नुपर्ने कुल बक्यौता रकम ६ अर्ब ६० करोड रुपैयाँ भएपनी भुक्तानी गर्ने ६० दिन कटिसकेकाले त्यसमा २५ प्रतिशत थप दस्तुर जोडेर भुक्तानी गर्न प्राधिकरणले निर्देशन दिएको हो ।
लोडसेडिङका बेला केहि उद्योगले प्रिमियम शुल्क लाग्ने डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोग गरेको तर बिल छुटेको भन्दै विद्युत् प्राधिकरणले छूट बिलको पत्र पठाएपछी उक्त बिसय अहिलेसम्म बिबादित रहेको छ ।
डेडिकेटेड र ट्रंक लाइनको विवाद कै बीच महसुल नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले विभिन्न २३ वटा उद्योगहरुको लाइन काटिदिएको थियो । डेडिकेटेड र ट्रंक लाइन बक्यौता विवाद अध्ययन आयोग निर्देशन पछि प्राधिकरणको गत पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले उद्योगहरुमा विद्युत आपूर्ति सुचारु गर्ने निर्णय गरेको थियो ।




