बंगलादेशले ५ वर्षका लागि नेपालबाट ४० मेगावाट बिजुली लैजाने भएको छ । बंगलादेशको सरकारले यस्तो निर्णय गरेको हो ।
मंगलबार बंगलादेशको खरिद कमिटीको बैठकले नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने भनी निर्णय गरेको हो ।
मन्त्रिपरिषद् डिभिजन (सुधार तथा समन्वय) सचिव महमुदुल होसैन खानले बैठकका निर्णयहरुबारे पत्रकारहरुलाई जानकारी दिएका छन् । ‘नेपालबाट भारतको प्रसारण ग्रीड हुदै बंगलादेश पुग्नेछ । भारतलाई ०.०५९ रुपैयाँ प्रतियुनिट ट्रेडिङ मार्जिन तिर्नुपर्छ । बंगलादेशले भारतलाई प्रसारणलाइनको शुल्क पनि तिर्नुपर्छ । प्रसारणलाइनको शुल्क तोक्न बाँकी छ’ उनले भने।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना नेपाल भ्रमणमा आउने र सोही समय सो सम्झौता हुन सक्ने बंगलादेशी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । प्रारम्भिक रुपमा पाँच वर्षका लागि सम्झौता गर्न लागिएको हो । वार्षिक १३० करोड टाका खर्च हुनेछ । पाँच वर्षमा ६५० करोड टाका खर्च हुने अनुमान बंगलादेशको अर्थ मन्त्रालयलाई उदृत गर्दै बंगलादेशको सरकारी समाचार संस्था बीएसएसले जनाएको छ । बंगलादेशी मुद्रा १ टाकाको नेपाली १ रुपैयाँ १४ पैसा हुन्छ ।




