20.2 C
Nepal
Sunday, February 15, 2026

प्रधानमन्त्रीलाई सम्पादकहरुको पत्र: गृहमन्त्रीले राज्यसत्ताको दुरुपयोग गरे

spot_imgspot_imgspot_img

देशका प्रमुख सञ्चार माध्यमका सम्पादकहरुले प्रधानमन्त्रीलाई संयुक्त पत्रमार्फत् ध्यानाकर्षण गराएका छन् । उनीहरुले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गरिएको गिरफ्तारीले गम्भीर प्रश्न खडा गरेको बताएका हुन् ।

‘कुनै पनि सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी पक्राउ गरिएको घटनालाई हामीले प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएका छौं,’ ध्यानार्षण पत्रमा भनिएको छ, ‘उनलाई लगाइएका आरोपबारे सरकारी निकायले कहिल्यै सोधपुछ गरेको छैन । हिजो एक्कासि उनलाई नागरिकतासँग जोडिएका केही प्राविधिक विषयलाई लिएर गिरफ्तार गरिएको छ ।’

संसदमा उभिएर गृहमन्त्री रवि लामिछानेले आफ्नो विपक्षमा आएको समाचारलाई ‘मिडिया ट्रायल’ गरेको भनाइप्रति सम्पादकहरुको आपत्ति छ ।

‘सहकारी ठगीको समस्या विकराल बनेको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘गृहमन्त्री रवि लामिछाने स्वयं र उनी पहिले साझेदार रहेको गोर्खा मिडिया नेटवर्कले विभिन्न सहकारीमा आममानिसले राखेको करिब एक अर्ब रूपैयाँ अपचलन गरेका समाचार मिडियाले निरन्तर लेखिरहेका छन् ।’

जबकि पालिका तहमा भएका छानबिन र स्वयं नेपाल प्रहरीको सिआइबीले गरेका छानबिनले उनी र उनी सञ्चालक रहेको मिडिया कम्पनीले सहकारीको रकम हिनामिना गरेको स्थापित गरेको भन्दै सम्पादकहरुले सत्ता दुरूपयोग गरेर आफूमाथि अभियोजन हुने र मुद्दा लाग्ने कुरालाई गृहमन्त्रीले रोकेको दाबी गरेका छन् ।

यस्तो छ ध्यानाकर्षणपत्रः

प्रधानमन्त्रीलाई सम्पादकहरूको संयुक्त पत्र
सम्माननीय प्रधानमन्त्रीज्यू,

नेपालका प्रमुख सञ्चार माध्यममा कार्यरत हामी सम्पादकहरू पछिल्लोपटक सञ्चार गृहमा भएको धरपकडका सम्बन्धमा निम्न विषयहरूमा तपाईंको ध्यानाकृष्ट गर्न चाहन्छौंः

१. कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले उनकै कार्यकक्षबाट मंगलबार गिरफ्तार गरेको छ। नेपालको कानुन सबै नागरिकले समान रूपमा पालना गर्नुपर्छ र सिरोहियाले कानुनविपरीत कुनै पनि काम गरेका भए कानुनले तोकेबमोजिम सजाय भोग्नुपर्छ। यसका लागि आफू तयार रहेको सिरोहिया स्वयंले पनि सार्वजनिक रूपमै बताइसकेका छन्।

२. जुन परिस्थितिमा, जस्तो आरोप लगाएर, जसरी कैलाश सिरोहियालाई गिरफ्तार गरियो, त्यसले गम्भीर प्रश्न खडा गरेको छ। कुनै पनि सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी पक्राउ गरिएको घटनालाई हामीले प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएका छौं। उनलाई लगाइएका आरोपबारे सरकारी निकायले कहिल्यै सोधपुछ गरेको छैन। हिजो एक्कासि उनलाई नागरिकतासँग जोडिएका केही प्राविधिक विषयलाई लिएर गिरफ्तार गरिएको छ। यो विषय अब अदालतले नै निरूपण गर्नेछ।

३. प्रधानमन्त्रीज्यू, हामी तपाईंलाई स्मरण गराउन चाहन्छौं-तपाईंको सरकारमा पहिलोपटक गृहमन्त्री बन्दा रवि लामिछाने नेपालका नागरिक थिएनन् र उनले विदेशी राहदानी बोकेका थिए। अदालतको फैसलापछि उनले नेपालको नागरिकता पुनः प्राप्त गरेका भए पनि एकैपटक दुई देशको राहदानी बोकेको गम्भीर कसुरमा उनी सजायका भागीदार थिए र छन्।

४. गृहमन्त्री रवि लामिछाने अहिले मिडियामाथि किन शत्रुभावका साथ जाइलागेका छन् भन्ने पनि हामी स्पष्ट गर्न चाहन्छौं। सहकारी ठगीको समस्या विकराल बनेको छ। अहिले लाखौं नेपालीले सहकारीमा बचत गरेको अर्बौं रूपैयाँ अपचलनमा परेको छ र उनीहरूले आफ्नै पैसा फिर्ता पाएका छैनन्। गृहमन्त्री रवि लामिछाने स्वयं र उनी पहिले साझेदार रहेको गोर्खा मिडिया नेटवर्कले विभिन्न सहकारीमा आममानिसले राखेको करिब एक अर्ब रूपैयाँ अपचलन गरेका समाचार मिडियाले निरन्तर लेखिरहेका छन्। मिडियाले लेखेका यिनै समाचारलाई उनले गरिमामय संसदमा उभिएर आफूमाथि ‘मिडिया ट्रायल’ भएको बताएका छन्। जबकि पालिका तहमा भएका छानबिन र स्वयं नेपाल प्रहरीको सिआइबीले गरेका छानबिनले उनी र उनी सञ्चालक रहेको मिडिया कम्पनीले सहकारीको रकम हिनामिना गरेको स्थापित गरेका छन्। सत्ता दुरूपयोग गरेर आफूमाथि अभियोजन हुने र मुद्दा लाग्ने कुरालाई गृहमन्त्रीले रोकेका छन्। हामी यसबारे पनि प्रधानमन्त्रीको ध्यानाकृष्ट गराउन चाहन्छौं र उनीमाथि प्रहरीले गरिरहेको छानबिन निष्पक्षतापूर्वक अघि बढाउने र मुद्दाको निष्पक्षतापूर्वक अभियोजन हुने वातावरण बनाउनु तपाईंको जिम्मेवारी रहेको स्मरण गराउँछौं।

५. नेपाली सञ्चार जगतमा लामो समयदेखि काम गरिरहेका हामी सम्पादकहरू प्रेस स्वतन्त्रता, कानुनको शासन र आफ्नो जिम्मेवारीप्रति सचेत छौं। र, त्यसको रक्षा गर्न र आफ्नो जिम्मेवारी पूरा गर्न कुनै सम्झौता गर्ने छैनौं भन्ने पनि स्पष्ट गर्न चाहन्छौं।

प्रतीक प्रधान – बाह्रखरी
शिव गाउँले – अनलाइनखबर
अमित ढकाल – सेतोपाटी
किरण नेपाल – खोज पत्रकारिता केन्द्र
युवराज घिमिरे – देशसञ्चार
सुधीर शर्मा
मदन लम्साल – अभियान
विमल गौतम – लोकान्तर
सागर पण्डित – नेपाल समाचारपत्र
राजाराम गौतम –
सुजित महत – उकालो
पूर्णबहादुर बस्नेत – नेपाल खबर
बसन्त बस्नेत – अनलाइनखबर
हरिबहादुर थापा – बाह्रखरी
उमेश चौहान- कान्तिपुर
रामेश्वर बोहरा – उकालो
कोषराज कोइराला – रिपब्लिका दैनिक
गुणराज लुइँटेल – नागरिक दैनिक
रूपेश श्रेष्ठ – कान्तिपुर टिभी
अखण्ड भण्डारी – अन्नपूर्ण पोस्ट
विश्वास बराल – द काठमाडौं पोस्ट
सरोज मिश्र – राजधानी दैनिक
अरूण बराल – खबरहब
कमलदेव भट्टराई – अन्नपूर्ण एक्सप्रेस
प्रकाश रिमाल
कसमस विश्वकर्मा
सञ्जीव सतगैयां
विजय पौडेल – कान्तिपुर टिभी
रामप्रसाद दाहाल – रातोपाटी
दुर्गा खनाल – इकान्तिपुर
सोमराज पोखरेल – हाम्राकुरा
पुष्प दुलाल- क्लिकमान्डु

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here