अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन मन्त्री विजय कुमारसहित सात जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सर्लाही लालबन्दी नगरपालिकामा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालको सहकार्यमा ‘एन्टिभेनम प्रडक्सन एण्ड रिसर्च सेन्टर नेपाल स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने कार्यमा अनियमितता गरेको भन्ने उजुरी निवेदनमा अनुसन्धान गर्दा भ्रष्टाचार भएको देखिएको भन्दै मुद्धा दर्ता गरेको हो ।
आफूसँग हुँदै नभएको अधिकार प्रयोग गरेर पैसा उपलब्ध गराएर भ्रस्टचार गरेको अख्तियारले ठहर गरेको छ ।
सर्पदंश विरूद्धको खोप उत्पादन तथा रिसर्च सेन्टर स्थापना गर्ने कार्यका लागि छुट्याइएको १७ करोड ९८ लाख ३३ हजार रूपैयाँ उक्त प्रतिष्ठानलाई दिएर हिनामिना गरेको भन्दै आइतबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
मधेश प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजय कुमार, सर्लाही, लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख मान बहादुर खड्का, आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन सचिव प्रेम कुमार श्रेष्ठ, तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल हाल राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद्का सञ्चालक समितिका पदाधिकारीहरू अध्यक्ष रेवती प्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायविरूद्ध मुद्दा दायर भएको हो।




