8.7 C
Nepal
Wednesday, January 21, 2026

काल्पनिक दुर्घटना खडा गरी ८१ लाख बीमा ठगी, ३१ जनाविरुद्ध मुद्दा दायर

spot_imgspot_imgspot_img

काठमाडौँ — काल्पनिक सवारी दुर्घटना देखाएर बीमा कम्पनीबाट रकम असुली गरेको ठगी प्रकरणमा प्रहरीले ३१ जनाविरुद्ध मुद्दा दायर गरेको छ। ठगी गिरोहमा बीमा कम्पनीका कर्मचारी र प्रहरीको समेत मिलेमतो रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले सोमबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीसम्बन्धी लिखत किर्ते तथा बीमा ठगी मुद्दा दायर गरेको हो। अभियोगपत्रअनुसार गिरोहले २९ वटा काल्पनिक दुर्घटना खडा गरी २७ वटा नक्कली सिफारिस पत्रमार्फत करिब ८१ लाख रुपैयाँ बीमा भुक्तानी लिएको पाइएको छ।

प्रहरीका अनुसार ठगी योजनाका मुख्य योजनाकार पर्सा घर भई हाल काठमाडौँको काँडाघारी बस्दै आएका हरि बुढाथोकी हुन्। यस योजनामा बीमा कम्पनीका कर्मचारी बिकेश कुँवर र प्रहरी हवल्दार धुव्र शाहीको संलग्नता रहेको अभियोगपत्रमा उल्लेख छ। शाहीले प्रहरी वृत्त बानेश्वरका अन्य कर्मचारीको नाम प्रयोग गरी नक्कली दुर्घटना सिफारिस पत्र तयार पारेर बीमा कम्पनीमा बुझाउने गरेको खुलेको छ।

अनुसन्धानमा बुढाथोकीले प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी निरीक्षक श्याम खनालको नाममा नक्कली हस्ताक्षर गर्दै प्रहरीको लेटरप्याड दुरुपयोग गरी २९ वटा नक्कली सिफारिस पत्र बनाएको पुष्टि भएको छ। उनले करिब ३० जना सवारीधनी र चालकसँग मिलेर नक्कली दुर्घटनाको योजना बनाइ बीमा रकम हिनामिना गरेको प्रहरीको भनाइ छ।

मुद्दा दायरको क्रममा ३१ प्रतिवादीमध्ये बस व्यवसायी बस्नेतलाई मात्र पक्राउ गरिएको थियो। जिल्ला न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले मुख्य अभियुक्त हरि बुढाथोकीलाई २ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

यस प्रकरणमा नाम जोडिएका अन्य ३० जना हालसम्म फरार छन्। उनीहरूको ब्लु–बुक तथा बैंक खाता नम्बर दुरुपयोग गरिएको पाइएको प्रहरीको भनाइ छ।

सरकारी वकिल कार्यालयले बीमा ठगीमा सहकारी, बीमा कम्पनीका कर्मचारी, प्रहरी तथा अन्य व्यक्तिको मिलेमतो देखिएको भन्दै दोषीउपर कडाइका साथ न्यायिक प्रक्रिया अघि बढाइने जनाएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here