युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। संस्थाको पुस २२ गते बसेको सञ्चालक समितिको १०८औँ बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि नगद तथा बोनस सेयर दुवै नदिने निर्णय गरेको हो।
बैठकले देशभर विगत चार वर्षदेखि निरन्तर देखिँदै आएको लघुवित्त विरोधी गतिविधिका कारण कर्जा नतिर्ने प्रवृत्ति बढ्दै गएको निष्कर्ष निकालेको छ। यसले ग्राहक सदस्यहरूबीचको सामूहिक जमानी दायित्व कमजोर बनाएको र कर्जा असुलीमा गम्भीर समस्या उत्पन्न भएको संस्थाले जनाएको छ।
त्यसैगरी, व्यावसायिक मन्दीका कारण ऋणी सदस्यहरूको व्यवसाय अपेक्षाअनुसार सञ्चालन हुन नसक्दा आम्दानीमा संकुचन आएको उल्लेख गरिएको छ। युवा विदेश पलायन र आर्थिक मन्दीको प्रभावले कर्जा लगानी विस्तार हुन नसक्दा संस्थाको निष्क्रिय कर्जा उल्लेख्य रूपमा वृद्धि भएको बोर्डको ठहर छ। निष्क्रिय कर्जा बढ्दा आम्दानीको ठूलो हिस्सा कर्जा नोक्सानी व्यवस्थापनमा खर्चिनु परेकाले मुनाफा घट्नुका साथै नगद प्रवाहमा समेत नकारात्मक असर परेको जनाइएको छ।
यस्ता चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि सेयरधनीलाई लाभांश वितरण गर्ने चाहना रहे पनि वर्तमान अवस्थाको गाम्भीर्यतालाई ध्यानमा राख्दै संस्थालाई सुरक्षित र स्थिर रूपमा सञ्चालन गर्न प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याइएको छ। नेपाल राष्ट्र बैंकको सुझावलाई समेत आत्मसाथ गर्दै आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणको आधारमा वितरणयोग्य मुनाफा सञ्चितबाट नगद तथा सेयर लाभांश वितरण गर्न नसकिने निर्णय सर्वसम्मत रूपमा गरिएको संस्थाले जनाएको छ।




