9 C
Nepal
Tuesday, January 20, 2026

शिखर पावर डेभलपमेन्टको आईपीओ माघ ६ गतेदेखि निष्कासन हुने

spot_imgspot_imgspot_img

शिखर पावर डेभलपमेन्ट लिमिटेडले आगामी माघ ६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले गत पुस १६ गते नेपाल धितोपत्र बोर्डबाट ३२ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो।

जारी पूँजीमध्ये सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात ९ करोड ८० लाख रुपैयाँ बराबरको ९ लाख ८० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरिनेछ। वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन र विद्युत उत्पादन अनुमतिपत्रको आधारमा बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका वडा नम्बर १ देखि १० सम्मका सम्पूर्ण वडाका बासिन्दा तथा विद्युत प्रसारण लाइनबाट प्रभावित बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर २ (साविक बुर्तिवाङ गाविसका वडा नम्बर २, ३, ४ र ५) का स्थानीय बासिन्दा यसमा समावेश छन्।

यसैगरी बाँकी २२ करोड २० लाख रुपैयाँ बराबरको २२ लाख २० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात २ लाख २२ हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि बिक्री गरिनेछ।

कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरिएको सेयर पूर्ण रूपमा बिक्री नभएमा बाँकी सेयर सर्वसाधारणमा समायोजन गरी निष्कासन गरिनेछ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ छिटोमा माघ २० गते र ढिलोमा फागुन ८ गते बन्द हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा माघ ९ गते र ढिलोमा माघ २० गतेसम्म आवेदन दिन सकिनेछ।

स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंक नक्साल, बुर्तिवाङ र बागलुङ बजार शाखा, प्रभु बैंक ग्वालीचौर शाखा, गरिमा विकास बैंक बुर्तिवाङ शाखा तथा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक बुर्तिवाङ शाखाबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सक्ने व्यवस्था रहेको छ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटलले पाएको छ। पहिलो चरणको सेयर बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने जनाएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here