काठमाडौँ — सालपा विकास बैंक लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ। निष्कासनको दोस्रो दिनसम्म बैंकको आईपीओमा मागभन्दा १०.५९ गुणा बढी आवेदन परेको छ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार दोस्रो दिनसम्म १२ लाख ९६ हजार १७७ जना लगानीकर्ताले आवेदन दिएका छन्। कुल १ अर्ब ५२ करोड ४३ लाख २७ हजार रुपैयाँ बराबरको १ करोड ५२ लाख ४३ हजार २७० कित्ता सेयरका लागि आवेदन परेको हो, जुन माग गरिएको परिमाणभन्दा झण्डै १० गुणा बढी हो।
बैंकले पुस १६ गतेदेखि सर्वसाधारणका लागि १४ लाख ३९ हजार १७९ कित्ता सेयर निष्कासन गरेको छ। जसमध्ये सामूहिक लगानी कोषका लागि ८६ हजार १९४ कित्ता र कर्मचारीका लागि २६ हजार ११९ कित्ता सेयर छुट्याइएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरू तथा ‘मेरो सेयर’ प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।
बैंकको आईपीओ निष्कासन छिटोमा पुस २० गते र ढिलोमा पुस ३० गते बन्द हुने जनाइएको छ। यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हालेको छ।




