मुक्तिनाथ विकास बैंक लिमिटेडले घोषणा गरेको लाभांश तपाई पनि आफ्नो पोल्टामा पार्न चाहनुहुन्छ ? बैंकले गत आर्थिक वर्षको नाफाबाट घोषणा गरेको १८.२० प्रतिशत लाभांश तपाई पनि प्राप्त गर्न चाहनुहुन्छ भने असोज ३१ गतेसम्म यो कम्पनीको सेयर किनिसक्नुपर्नेछ ।
बैंकले आफ्नो १९ औं वार्षिक साधारणसभा आगामी कात्तिक १५ गते बोलाएको छ र त्यसका लागि बुक क्लोज मिति भनेर असोज ३१ गतेलाई तोकेको छ । यसको अर्थ कम्पनीले घोषणा गरेको लाभांश पाउन तथा सेयरधनीको रुपमा साधारणसभामा सहभागी बन्न असोज ३१ गतेभित्र सेयर किनिसक्नुपर्नेछ ।
यो बैंकले भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकबाट १३.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ४.६७ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको थियो ।
साधारणसभामा आर्थिक वर्ष २०८१/८२ को लागि घोषित लाभांश पारित गर्ने अजेण्डा राखिएको छ ।
यसबाहेक, नाफा नोक्सान विवरण, वित्तीय प्रतिवेदन र नगद प्रवाह प्रतिवेदन सहितको लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्ने र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त गर्ने थप अजेण्डाहरु पनि छन् ।