ईदी हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई साधारण शेयर (आईपीओ) जारी गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको असोज ४ गते बसेको बैठकले असोज ३० गते बिहान ११ बजे पोखरास्थित रजिष्टर्ड कार्यालयमा सभा गर्ने निर्णय गरेको हो।
सभामा विशेष प्रस्तावमार्फत सर्वसाधारणलाई आईपीओ जारी गर्ने प्रस्ताव अनुमोदन गरिनेछ। साथै, आईपीओ निष्कासनका क्रममा नियामक निकायबाट आवश्यक परेमा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विषयमा समेत छलफल हुनेछ।
त्यसैगरी, अधिकृत, जारी र चुक्तापूँजी वृद्धि गर्ने, कम्पनीको नाम परिवर्तन गर्ने तथा सम्पर्क कार्यालय खोल्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गर्नेछ। साथै, आगामी कार्यकालका लागि सञ्चालक समितिको निर्वाचन गर्ने प्रस्ताव पनि प्रस्तुत गरिने कम्पनीले जनाएको छ।