काठमाडौं, १९ असोज २०८२ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी समूहको हालैको प्रदर्शनका क्रममा प्रहरीले नभएका स्वचालित हतियारबाट गोली चलाएको दाबी गरेका छन्।
संविधान दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गर्दै उनले उक्त घटनामा छानबिन आवश्यक रहेको बताए। ओलीले लेखेका छन्,
“सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ। त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछु।”
ओलीले आफ्नो प्रधानमन्त्री पदबाट राजीनामापछि सिंहदरबार, नेपालको नक्सा र देशका प्रतीक जलाइएका भन्दै राज्यका संरचना र व्यक्तिगत सम्पत्तिमाथि गरिएको आगजनीप्रति चिन्ता व्यक्त गरे।
उनले लेखे,
“देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश फैलाउने काम मात्र भएको छ, नयाँ पुस्ताले आफैं महसुस गर्नेछन्। हाम्रा युवाहरूले काजी भीम मल्लको मृत्युदण्डको इतिहास पढेका होलान्। असन्तोषका परिणाम पछुताउन मात्र काम लाग्छ, त्यस पछुतोले बनिरहेको देशको झन् गाढा सम्झना गराउने छ।”
ओलीले सबै पुस्ताका नेपालीहरू एकजुट भई सार्वभौमसत्ता र संविधानको रक्षा गर्न आह्वान गर्दै हिंसात्मक घटनाहरूको छिटो छानबिन गर्न सरकारलाई आग्रह गरेका छन्।