एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले पदबाट राजीनामा दिएका छन्। सञ्चालक समितिसँगको असहमतिका बीच उनले केही समयअघि नै बैंक छाड्ने इच्छा व्यक्त गरेका थिए। तर बैंकले भोगिरहेको चुनौतीपूर्ण परिस्थितिका कारण उनको राजीनामा तत्काल स्वीकृत गरिएको थिएन।
बैंकले बिहीबार न्यौपानेको राजीनामा स्वीकृत गर्दै औपचारिक घोषणा गरेको छ। राजीनामा स्वीकृत भएपछि उनी तत्काल प्रभावले पदबाट मुक्त भएका छन्।
सूत्रहरूका अनुसार, न्यौपाने लामो समयदेखि बैंकको दैनिक कार्यसम्पादनमा सक्रिय थिएनन्। अधिकांश कामकाज डेपुटी सीईओ सन्तोषकुमार राठीले सम्हाल्दै आएका थिए।
न्यौपानेको कार्यकाल अझै बाँकी रहँदा राजीनामा स्वीकृत हुनुलाई बैंक भित्रको रणनीतिक निर्णयका रूपमा हेरिएको छ।
सञ्चालक समितिले राजीनामा स्वीकृत गर्दै डेपुटी सीईओ सन्तोषकुमार राठीलाई कामु प्रमुख कार्यकारी अधिकृत (Acting CEO) को जिम्मेवारी दिएको छ। राठी अब बैंकको नेतृत्व सम्हाल्नेछन् र व्यवस्थापकीय कार्य निरन्तरता दिने जिम्मेवारी उनका काँधमा आएको छ।