जेनजी आन्दोलनका कारण अवरुद्ध भएको सेयर कारोबार पुनः खुलेको पहिलो दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा भारी गिरावट देखिएको छ। लगानीकर्ताको गिरेको मनोबलको प्रतिबिम्ब बजारमा स्पष्ट झल्किएको छ।
कारोबार सुरु भएको एक मिनेटमै नेप्से ४% ले घट्दा पहिलो नेगेटिभ सर्किट लागेर कारोबार २० मिनेटका लागि स्थगन गरियो। त्यसपछि बजार पुनः खुल्दा पनि गिरावट रोकिएन—बरु उल्टै तीव्र भयो। कारोबार सुरु भएको दुई मिनेटमै परिसूचक ५% ले झर्दा दोस्रो सर्किट लागेर बजार ४० मिनेटका लागि फेरि रोक्नुपर्यो।
बजार ४० मिनेटपछि पुनः खुल्दा पनि गिरावट निरन्तर रह्यो र यदि सूचकांक ६% ले घटेमा आजका लागि सम्पूर्ण कारोबार रोकिने चेतावनी नेप्सेले दिएको छ।
गिरावटका कारण
विश्लेषकहरूका अनुसार, जेनजी आन्दोलनले देशभर मच्चाएको विध्वंसले लगानीकर्ताको मनोबलमा ठुलो आघात पुर्याएको छ। ठूलोदेखि साना लगानीकर्ताको सम्पत्ति, व्यवसाय र संरचनामा आक्रमण हुँदा बजारमा पनि त्यसको नकारात्मक प्रभाव देखिएको छ।
नेप्सेमा सूचीकृत होटल र अन्य समूहका कम्पनीहरूले आन्दोलनकारीबाट ठूलो क्षति बेहोर्नु परेको छ। सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिको कारण निर्जीवन बीमा कम्पनीहरूमा ३० अर्बभन्दा बढीको बीमा दाबी परिसकेको तथ्य सार्वजनिक भएको छ। परिणामस्वरूप, सूचीकृत बीमा कम्पनीहरूको सेयरमा खरिदकर्ता नहुँदा बिक्रीको चाप मात्र बढेको देखिन्छ।
व्यापक असर
आर्थिक विश्लेषकहरूको भनाइमा, हालको विध्वंसले आर्थिक वृद्धिमै धक्का पुर्याउने जोखिम बढेको छ। यसले देशको जीडीपी ग्रोथ र समग्र अर्थतन्त्रमा नकारात्मक असर पार्ने अनुमान गरिएको छ।
उनीहरूले चेतावनी दिएका छन् कि देशको विषम राजनीतिक तथा आर्थिक परिस्थितिले लगानीकर्ताको आत्मविश्वास नउकासेसम्म नेप्सेमा नेगेटिभ सर्किटको श्रृंखला अझै बढ्नसक्ने जोखिम कायम छ।