काठमाडौं, भदौ २७
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेसँगै जेनजी आन्दोलनपश्चात अस्तव्यस्त बनेको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।
कर्फ्यु र निषेधाज्ञा हट्दै
देशका अधिकांश क्षेत्रमा कर्फ्यु र निषेधाज्ञा हटाइए पनि ललितपुरमा अझै कायम छ।
त्यहाँबाहेकका क्षेत्रमा नागरिकहरू आफ्नो पेशा–व्यवसायमा फर्किएका छन् र सुरक्षाको अवस्था सामान्य देखिएको छ।
प्रशासनिक बैठक आज
काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक आज बस्दैछ।
बैठकले रातको समयमा निषेधाज्ञा जारी गर्ने वा हटाउने विषयमा ठोस निर्णय गर्नेछ। साथै, ललितपुरको निषेधाज्ञाबारे पनि निर्णय हुने अपेक्षा गरिएको छ।
यातायात नियमित
गत मंगलबारदेखि पूर्ण रूपमा ठप्प रहेको सार्वजनिक यातायात शनिबारदेखि नियमित रूपमा सञ्चालनमा आएको छ।
शुक्रबार फाट्टफुट्ट गुडेका सवारी साधन आज बिहानदेखि बाक्लो संख्यामा सडकमा देखिएका छन्।
नयाँ सरकार र मध्यावधि चुनाव
हिजो मध्यराति जेनजी आन्दोलनकारीको मागअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए।
त्यसलगत्तै प्रधानमन्त्री कार्कीको सिफारिसमा पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए।
नयाँ सरकारले आगामी फागुन २१ गते मध्यावधि चुनाव घोषणा गरेको छ। राजनीतिक अन्यौल घटेर अन्तरिम सरकार बनेपछि स्थानीय प्रशासन र सेनाको समन्वयमा लगाइएको कर्फ्यु र निषेधाज्ञा हटाइएको हो।