हामी Gen Z,
आजको नेपालमा हामी मात्र एउटा पुस्ता होइनौँ, हामी परिवर्तनको प्रतिक हौँ।
हामीले भोगेको अवस्था साधारण छैन—३५ वर्षदेखि देशलाई लुट्नेहरू अझै पदमा छन्, अझै शक्तिमा छन्, अझै मौन छन्। प्रधानमन्त्री उही, राष्ट्रपति उही, संसद उही, न्यायाधीश उही, संविधान उही। न कुनै संकटकाल, न कुनै गिरफ्तारी, न कुनै मुद्दा।
सबै कुरा यथावत् छ—तर हामी मौन छैनौँ।
संसद भवन, सिंहदरबार, न्यायपालिका—यी हाम्रो सार्वभौमिकताको प्रतीक हुन्। यी किन जलाइयो? कसले जलायो? यसको जवाफ समयले दिनेछ। तर एउटा कुरा निश्चित छ—यी संरचनाहरू फेरि उठ्नेछन्। तर यसपटक पुनर्निर्माण इमान्दार करदाताको पसिनाले होइन, लुटेका नेताहरूको अवैध सम्पत्तिबाट हुनेछ।
हामीलाई थाहा छ—हाम्रो आन्दोलनलाई कमजोर पार्न धेरैले खेल खेले। बाह्य शक्ति, आन्तरिक स्वार्थी गुट र लोभी नेताहरूले आन्दोलनलाई बदनाम गर्न सार्वजनिक सम्पत्ति तहसनहस गरे। तर इतिहास गवाह छ—भवन ढल्दा पनि आन्दोलनको आत्मा कहिल्यै ढल्दैन।
यही कारण, हामी Gen Z भन्छौँ—हाम्रो बाटो हिंसा होइन, हाम्रो बाटो शान्ति र संयम हो। हाम्रो माग केवल सडकमा चिच्याएर सकिँदैन। हाम्रो संघर्ष पुस्तौँसम्म अन्याय भोगेका आम जनताको सपना पूरा गर्ने मार्ग हो।
साँचो परिवर्तन तब मात्र हुनेछ जब—
नयाँ पुस्ताको प्रधानमन्त्रीको नेतृत्वमा शक्तिशाली नागरिक सरकार स्थापना हुन्छ,
वर्तमान संसद बिघटन भएर स्वच्छ जनप्रतिनिधि चुनिन्छन ।
दलको कृपामा बस्ने न्यायाधीश र संवैधानिक निकायका पदाधिकारीहरूले पदत्याग गर्छन्,
र एउटा अन्तरिम संविधान जनताको आवाजमा लेखिन्छ।
तर यो सजिलो छैन। परिवर्तनका लागि निरन्तर खबरदारी, सजगता र जनताको सामूहिक दबाब आवश्यक छ।
आन्दोलनले कुनै ऐतिहासिक धरोहर, सांस्कृतिक सम्पदा वा सरकारी अभिलेख नष्ट गर्नु हुँदैन। किनकि हाम्रो शक्ति तोडफोडमा होइन—शान्तिपूर्ण तर दृढ प्रतिरोधमा छ।
हामी थाक्दैनौँ । हामी पछि हट्दैनौँ ।
देश–विदेशमा रहेका सबै नेपालीको मनमा एउटै आवाज छ—देश पहिले, हामी पछि।
हामी निदाउन सक्दैनौँ किनकि देश हारेको छ। तर भ्रष्ट नेताहरू विलासी जीवनमा रमाइरहेका छन्। अब त्यो दिन टाढा छैन जब उनीहरूको सम्पत्ति राज्यले कब्जा गर्नेछ, र त्यो सम्पत्ति जनताको भविष्य बनाउन प्रयोग हुनेछ।
हामी नतमस्तक छौँ ती महान आमाहरूप्रति जसले आफ्ना छोराछोरीलाई देशका लागि अर्पण गर्नुभयो। हामी श्रद्धाञ्जली अर्पण गर्छौँ ती सहिदलाई जसको बलिदानले हाम्रो आत्मालाई जागृत गर्यो।
हाम्रो आन्दोलन आक्रोश मात्र होइन—यो सपना हो।
हाम्रो सपना भ्रष्टाचारमुक्त नेपाल, समतामूलक समाज र गौरवशाली भविष्य हो।
यो सपनालाई अब कसैले दबाउन सक्दैन।
देश अवश्य बन्छ।
देश लुट्नेहरूको पालो सकिएको छ।
अब हाम्रो पालो आएको छ—देश बनाउने, देश उठाउने, र भविष्य उज्यालो बनाउने।
जेन्जी पुस्ताका बसन्त गिरी को बिचार