19.9 C
Nepal
Tuesday, September 16, 2025

जेन्जी आन्दोलन काठमाडौं बाहिर पनि चर्कियो

सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरोधी आन्दोलन : काठमाडौं बाहिर पनि जेनजीको आक्रोश चर्कियो

काठमाडौं । सामाजिक सञ्जाल बन्द र बढ्दो भ्रष्टाचारविरुद्ध जेनजी युवाहरूले सुरु गरेको आन्दोलन काठमाडौं बाहिर पनि उग्र बनेको छ । काठमाडौंमा १७ जनाको ज्यान गएपछि मुलुकका विभिन्न सहरमा आन्दोलन तीव्र बनेको हो । सुनसरी, झापा, बुटवलदेखि कर्णालीसम्म आक्रोशित युवाहरू सडकमा उत्रिएका छन् ।


इटहरीमा उपमहानगर कार्यालयमा आगजनी, २ को मृत्यु

सुनसरीको इटहरीमा जेनजी आन्दोलन हिंसात्मक बनेको छ । सोमबार दिउँसो प्रदर्शनकारी उपमहानगरपालिकाको परिसरभित्र प्रवेश गरी मेयरको कार्यकक्ष, राजस्व शाखा र स्टोर शाखामा आगो लगाइदिएका हुन् । प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा २ जनाको ज्यान गएको छ । स्थिति नियन्त्रणबाहिर गएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ ।


दमकमा गोली, ओली निवासमा ढुंगामुढा

झापाको दमकमा भएको आन्दोलनमा प्रहरीको गोली लागी ३ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई विएण्डसी अस्पतालमा उपचारका लागि लगिएको छ । आन्दोलनरत युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको दमकस्थित निवासमा समेत ढुंगामुढा प्रहार गरेका थिए ।


कर्णालीमा शान्तिपूर्ण प्रदर्शन

कर्णाली प्रदेशमा भने जेनजीले शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन गरेका छन् । वीरेन्द्रनगरको मंगलगढी चोकदेखि सुरु भएको र्‍याली मुख्यमन्त्री कार्यालय अगाडि पुगेर सभा बनेको थियो । ‘जुरुक्क जेनजी, जीउँदो कर्णाली’ भन्ने नारासहित युवाहरूले संयमित आन्दोलन गरेका थिए ।


बुटवलमा कर्फ्यू, एमाले कार्यालय घेराउ

बुटवलमा आन्दोलनरत युवाहरूले नेकपा एमाले पार्टी कार्यालय घेराउ गरेका छन् । यसअघि उनीहरूले उपमहानगरपालिकाको गेट अगाडि तथा राजमार्ग क्षेत्रमा प्रदर्शन गरेका थिए । स्थिति तनावपूर्ण भएपछि रुपन्देही प्रशासनले सोमबार अपराह्न ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू जारी गरेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here