प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरी १८ जना भन्दा बढी जेनजी आन्दोलनकारीको ज्यान गएपछि राष्ट्रिय मानवअधिकार आयोग बोलेको छ ।
सामान्यतया यस्ता प्रदर्शन अघि वा घटनाक्रमकै समयमा सरकारलाई खबरदारी गर्ने आयोग यसपटक २ सयभन्दा बढी घाइते र १८ जनाको मृत्युको समाचार सार्वजनिक भएपछि मात्रै बोल्न बाध्य भएको हो ।
यसपटक आयोगको ढिलासुस्ती र मौनताप्रति विभिन्न क्षेत्रबाट कडा आलोचना भइरहेको छ । सरकारले बानेश्वरमा भएको प्रदर्शनलाई दबाउन बल प्रयोग गर्दा समेत आयोग मौन बसेको भन्दै आलोचना भएको हो ।
आलोचनाकै बीच आयोगले विज्ञप्ति जारी गर्दै आन्दोलनकारीमाथि ‘अत्यधिक’ बल प्रयोग नगर्न सरकारलाई निर्देशन दिएको छ । साथै उसले जेनजी आन्दोलनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउन आग्रह गरेको छ ।
आयोगले प्रदर्शनका क्रममा तोडफोड र आगजनी हुनु दुःखद भएको उल्लेख गर्दै भनेको छ, “प्रदर्शनकारी संसद भवन प्रवेश गर्न खोजेको भन्दै प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्यास र गोली प्रहार गरेको अनुगमनमा देखिएको छ । दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको र थुप्रै घाइते भएको जानकारी प्राप्त भएको छ ।”
लोकतान्त्रिक सरकारले नागरिकका आवाजलाई समयमै सम्बोधन गर्नुपर्ने भन्दै आयोगले थप चेतावनी दिएको छ । “विमति समयमै सम्बोधन नहुँदा प्रदर्शन तोडफोड र आगजनीमा बदलिनु र सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद छ,” विज्ञप्तिमा भनिएको छ ।