काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई लक्षित गर्दै लाभांश वितरणसम्बन्धी नयाँ सर्कुलर जारी गरेको छ।
सर्कुलरअनुसार १५ प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा (एनपीएल) भएका लघुवित्त वित्तीय संस्थाहरुलाई लाभांश वितरण गर्न प्रतिबन्ध लगाइएको छ। यसअघि लाभांश घोषणा गर्दा १५ प्रतिशतभन्दा माथि प्रस्ताव भएमा सो रकमको ५० प्रतिशत सामान्य जगेडा कोषमा राख्नुपर्ने व्यवस्था थियो।
नयाँ प्रावधानअनुसार लघुवित्त संस्थाले लाभांश वितरण गर्दा पछिल्लो असार मसान्तको एनपीएल र वितरणपछिको पुँजीकोष अनुपातलाई आधार मान्नुपर्नेछ।
पुँजीकोष १२ प्रतिशतभन्दा बढी हुने संस्थाहरु
- ५% एनपीएलसम्म भएमा २५% लाभांश वितरण गर्न पाउने
- ५–१०% एनपीएल भएमा २०%
- १०–१५% एनपीएल भएमा १५%
पुँजीकोष १०–१२% हुने संस्थाहरु
- ५% भन्दा कम एनपीएल भएमा २०%
- ५–१०% एनपीएल भएमा १५%
- १०–१५% एनपीएल भएमा १०%
पुँजीकोष ८–१०% हुने संस्थाहरु
- ५% एनपीएलसम्म भएमा १५%
- ५–१०% एनपीएल भएमा १०%
- १०–१५% एनपीएलभन्दा बढी भएमा ५% मात्र
यसका साथै, चुक्ता पुँजी कायम गर्न नसकेका लघुवित्त संस्थाहरुले बोनस शेयरबाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले खुद्रा कर्जा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाका लागि वैदेशिक रोजगारमा जाने व्यक्तिलाई रु. ३ लाखसम्म र महिलाका हकमा रु. ५ लाखसम्म धितो वा बिना धितो ऋण उपलब्ध गराउन सक्ने सीमा कायम गरेको छ।
नयाँ सर्कुलरले लघुवित्त संस्थाहरुको वित्तीय अनुशासन कडाइ गर्ने र लगानीकर्ताको हित संरक्षण गर्ने उद्देश्य राखेको राष्ट्र बैंकले जनाएको छ।