नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ झिक्ने भएको छ। केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि अल्पकालीन उपकरण अन्तर्गत २५ दिनका लागि निक्षेप संकलन गर्ने निर्णय गरेको हो।
पछिल्लो समय राष्ट्र बैंकले नियमित रूपमा आइतबार र बुधबार बजारबाट तरलता संकलन गर्दै आएको छ। सोही क्रममा आज पनि राष्ट्र बैंकले अनलाइन बिडिङ प्रणालीमार्फत पैसा झिक्न लागेको हो। यसका लागि आज मध्यान्ह ३ बजेदेखि अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँको गुणकमा आवेदन दिन सक्नेछन्। कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सकिनेछ भने यसको साँवा तथा ब्याज भुक्तानी भदौ २९ गते हुनेछ।
यस निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागिता जनाउन पाउनेछन्।