नेपाल टेलिकम (एनटीसी) को आम्दानी र नाफामा उल्लेख्य गिरावट आएको छ। कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३८ अर्ब ७३ करोड रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आवको सोही अवधिको ४२ अर्ब ११ करोड रुपैयाँभन्दा ८.०३ प्रतिशतले कम हो।
आम्दानी घटेसँगै कम्पनीको नाफामा अझ ठूलो गिरावट देखिएको छ। समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आवको सोही अवधिको ६ अर्ब २३ करोड रुपैयाँभन्दा ५७.२१ प्रतिशतले कम हो।
रिजर्भ र सम्पत्ति
समीक्षा अवधिसम्म कम्पनीको रिजर्भ ७१ अर्ब १५ करोड रुपैयाँमा झरेको छ, जुन अघिल्लो आवको तुलनामा ५.४६ प्रतिशतले कम हो। त्यस्तै, कम्पनीको कुल चालु सम्पत्ति ४४ अर्ब ६८ करोड रुपैयाँ र कुल चालु दायित्व १८ अर्ब ६४ करोड रुपैयाँ कायम भएको छ।
वित्तीय सूचक
नेपाल टेलिकमको प्रतिसेयर आम्दानी (EPS) ३४.६४ रुपैयाँबाट घटेर १४.८२ रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, प्रतिसेयर नेटवर्थ ४९५.३३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६७१.०६ रुपैयाँ, तरलता अनुपात २.४० प्रतिशत र मूल्य/आम्दानी अनुपात (P/E Ratio) ५९.१८ गुणा रहेको छ।
यसले कम्पनीको वित्तीय प्रदर्शनमा चुनौती बढिरहेको स्पष्ट देखाएको छ।