कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले सो अवधिमा ४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंकको खुद नाफा २ अर्ब ८९ करोड रुपैयाँ मात्र रहेको थियो। यसरी बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४३.३८ प्रतिशतले बढेको छ।
समीक्षा वर्षमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। यस आधारमा बैंकले १८.४२ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राखेको छ।
गत आर्थिक वर्षमा बैंकको सञ्चालन नाफा ५ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षमा सञ्चालन नाफा ४ अर्ब १३ करोड रुपैयाँ मात्र रहेको थियो। यसरी सञ्चालन नाफा पनि ४१.२७ प्रतिशतले बढेको हो।
यद्यपि, बैंकको ब्याज आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकले ९ अर्ब ८२ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १० अर्ब ५५ करोड रुपैयाँ थियो। यसरी ब्याज आम्दानी ६.९३ प्रतिशतले घटेको छ।
बैंकको चुक्ता पूँजी १९ अर्ब २८ करोड रुपैयाँ रहेको छ। समीक्षा वर्षमा संचित नोक्सानी २ अर्ब ८७ करोड रुपैयाँ नकारात्मकमा छ भने रिजर्भ १६ अर्ब ९९ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षमा संचित नाफा २ अर्ब १३ करोड रुपैयाँ र रिजर्भ १५ अर्ब ११ करोड रुपैयाँ थियो।
गत वर्ष बैंकले २९३ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २१३ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष बैंकको निक्षेप २४३ अर्ब ६२ करोड रुपैयाँ र कर्जा प्रवाह २०३ अर्ब ६१ करोड रुपैयाँ मात्र थियो।
बैंकको असुल नहुने कर्जा अनुपात (NPL) ३.२६ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३.९१ प्रतिशत थियो।
बैंकको वार्षिक आम्दानी प्रतिकित्ता (EPS) २७ रुपैयाँ ६३ पैसा पुगेको छ। अघिल्लो वर्षको EPS १८ रुपैयाँ ५६ पैसा मात्र थियो। बैंकको प्रतिकित्ता नेटवर्थ २४१ रुपैयाँ ०४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (P/E ratio) ११.८४ गुणा रहेको छ।