काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख वित्तीय सूचकहरू सुदृढ बन्दै गएका छन्। बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा १०.२३ प्रतिशतले वृद्धि भई ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ८ करोड रुपैयाँको नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी पनि ६.४३ प्रतिशतले वृद्धि भई ८ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, खुद शुल्क तथा कमिशन आम्दानी अघिल्लो वर्षको १ अर्ब ४२ करोड रुपैयाँबाट बढेर १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।
बैंकको कुल खुद सञ्चालन आम्दानी ९ अर्ब ८४ करोड रुपैयाँ र सञ्चालन मुनाफा ५ अर्ब २ करोड रुपैयाँ रहेको छ।
सबैभन्दा उल्लेखनीय सुधार बैंकको वितरणयोग्य मुनाफामा देखिएको छ। अघिल्लो आवको तुलनामा २२०.९७ प्रतिशतले वृद्धि भई वितरणयोग्य मुनाफा १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। लाभांश वितरण क्षमतासमेत ४.१२ प्रतिशतबाट बढेर १३.२२ प्रतिशतमा पुगेको छ।
प्रतिसेयर आम्दानी (EPS) पनि वृद्धि भई २४.१० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो आवमा २१.८६ रुपैयाँ थियो। बैंकको निक्षेप संकलन २ खर्ब ४१ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ८० अर्ब पुगेको छ भने कर्जा प्रवाह १ खर्ब ९५ अर्बबाट २ खर्ब १४ अर्बमा पुगेको छ।
यद्यपि, खराब कर्जा अनुपात (NPL) २.१७ प्रतिशतबाट बढेर २.६२ प्रतिशतमा पुगेको छ। बैंकको रिटेन्ड अर्निङ्स १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ भने रिजर्भ कोष १३ अर्ब ३९ करोडबाट बढेर १५ अर्ब ४ करोड रुपैयाँ पुगेको छ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ २१९.९७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य २,४०४.४ रुपैयाँ, मूल्य–आम्दानी अनुपात (P/E ratio) १५.९३ गुणा र तरलता अनुपात ३४.०१ प्रतिशत कायम भएको छ।




