झापा इनर्जी लिमिटेडले सौर्य ऊर्जा परियोजनाका लागि पहिलो चरणको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले साउन १४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कुल ४ लाख ३७ हजार २१९ कित्ता साधारण सेयर सार्वजनिक गर्नेछ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट गत असार ३१ गते प्रति सेयर रू. १०० अंकित दरमा ९ लाख ५० हजार ४७५ कित्ता साधारण सेयर जारी गर्न स्वीकृति पाएको कम्पनीले पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि उक्त सेयर बिक्रीमा ल्याउने जनाएको छ।
सेयरको वितरण
- प्रत्यक्ष प्रभावित क्षेत्र: शिवसताक्षी नगरपालिका–४ स्थित आयोजना स्थल र १०० मिटर वरपरका बासिन्दाका लागि १ लाख ९० हजार ९५ कित्ता।
- अप्रत्यक्ष प्रभावित क्षेत्र: सोही वडामा आयोजनास्थल बाहेकका बासिन्दाका लागि १ लाख ९० हजार ९५ कित्ता।
- वैदेशिक रोजगारीमा रहेका नेपाली: ५७ हजार २९ कित्ता।
आवेदन प्रक्रिया
आवेदनकर्ताले न्यूनतम १० र अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
- आयोजना प्रभावित बासिन्दाका लागि आवेदन अवधि: साउन १४ देखि छिटोमा साउन २८ र ढिलोमा भदौ १२ सम्म।
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन अवधि: साउन १४ देखि छिटोमा साउन १८ र ढिलोमा साउन २८ सम्म।
कहाँ आवेदन गर्ने ?
आयोजना प्रभावित बासिन्दाले हिमालयन बैंकको देधे शाखा, दमक (१ र २), सुरुङ्गा शाखा, माछापुच्छ्रे बैंकको दमक र सुरुङ्गा शाखा तथा आयोजना स्थलबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्वा सदस्य बैंक/वित्तीय संस्था, तिनका शाखा र मेरो सेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
बिक्री प्रबन्धक
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेड ले लिएको छ। पहिलो चरणको सेयर वितरणपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने योजना बनाएको छ।




