काठमाण्डौ, असार ३१ – घुस लिएको आरोप लागेपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्। केही दिनअघि सार्वजनिक भएको अडियो रेकर्डमा मन्त्री गुप्ताले आर्थिक लेनदेनका विषयमा वार्ता गरिरहेको सुनिएपछि उनी चौतर्फी आलोचनाको घेरामा परेका थिए।
विपक्षी दलहरूबाट तीव्र विरोधसहित राजीनामा र कानुनी कारबाहीको माग भएपछि गुप्ताले आज औपचारिक रूपमा पद त्याग गरेका हुन्। अडियोमा, पुस/माघ महिनामा काम गरिदिने सर्तमा पैसा लिएको दाबी गरिएको छ।
उक्त अडियो रेकर्डमा कास्की जिल्लाको भूमि आयोग अध्यक्ष नियुक्ति विषयमा गुप्ताले एक व्यक्तिसँग पैसा लिएको संवाद छ। साथै, पोखराको जग्गा सम्बन्धी विषय र अन्य जिल्लाका मालपोत कार्यालयमा फोन गरी ‘सहयोग माग्ने’ तथा ‘काम नगरेमा सरुवा गरिदिने’ चेतावनी दिएको दाबीसमेत अडियोमा गरिएको छ।
यस प्रकरणले गम्भीर राजनीतिक तरंग ल्याएको छ भने सरकारभित्र पनि नैतिकताको प्रश्न उठेको छ। अब यो मामिलामा प्रशासनिक छानबिन र कानुनी प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।