काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औं वार्षिक साधारण सभा आज हुँदैछ। सभा काठमाडौं नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान १०:३० बजेबाट सुरु हुनेछ।
सभामा आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित ८ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) वितरणको प्रस्ताव पारित गरिने कम्पनीले जनाएको छ। साथै, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र नेपाल वित्तीय प्रतिवेदन मानबमोजिम तयार गरिएका वित्तीय विवरणहरू माथि छलफल गरी पारित गरिनेछ।
सभामा २०८१/८२ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ।
त्यस्तै, सभाले सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडको २०८०/८१ को वित्तीय विवरण र खर्च स्वीकृति दिने प्रस्ताव पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ २८ गते बुक क्लोज गरेको थियो। यसर्थ, जेठ २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।