एशियन लाइफ इन्स्योरेन्सले असार २५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही असार २५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँ बराबरको शतप्रतिशत अर्थात् १ः०.४२ अनुपातमा रु. १०० अंकित दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो।
यस प्रयोजनका लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गरेको थियो। त्यसकारण जेठ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्रै हकप्रद सेयर खरिदका लागि योग्य हुनेछन्।
कम्पनीले हकप्रदमा आवेदन दिने अन्तिम मिति साउन १३ गते तोकेको छ। सेयरधनीहरूले हकप्रद सेयरका लागि आवेदन मुक्तिनाथ क्यापिटल लिमिटेड, मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर र बुटवल शाखा कार्यालय तथा एशियन लाइफ इन्स्योरेन्सको कार्यालयहरूबाट दिन सक्नेछन्।
त्यसैगरी, आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट, सिडिएस एण्ड क्लियरिङ्गको ‘मेरो सेयर’ अनलाइन प्लेटफर्म मार्फत सि-आस्वा प्रणाली प्रयोग गरी पनि आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ।
कम्पनीले हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट वैशाख २६ गते स्वीकृति प्राप्त गरिसकेको छ।
महत्वपूर्ण मिति र तथ्यहरू
- बुक क्लोज मिति : जेठ १६ गते
- आवेदन सुरु : असार २५ गते
- आवेदन अन्तिम मिति : साउन १३ गते
- अनुपात : १ : ०.४२
- अंकित दर : रू १०० प्रति कित्ता