काठमाडौं, असार १ — कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ५ लाख ६ हजार ९७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले आजदेखि यस सेयर बिक्री प्रक्रिया सुरु गरेको हो।
बैंकका अनुसार यस संस्थापक सेयर खरिदका लागि इच्छुक जो कोही व्यक्ति वा कम्पनीले आवेदन दिन सक्नेछन्। यसअघि बैंकले आफ्ना विद्यमान संस्थापक सेयरधनीहरुलाई सेयर खरिदको प्रस्ताव गरेको थियो, तर कुनै आवेदन नपरेपछि बैंकले आम सर्वसाधारणका लागि बिक्री प्रक्रिया अघि बढाएको हो।
सेयर खरिद गर्न चाहने लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन कुमारी बैंकको केन्द्रीय कार्यालय (टंगाल) वा सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा बुझाउनु पर्नेछ। सेयरको मूल्य भने बिक्रेताले तोकेको मूल्यअनुसार हुनेछ।
बैंकले इच्छुक लगानीकर्ताहरुलाई तोकिएको समयसीमा भित्र आवेदन दिन आग्रह गरेको छ।