काठमाडौं ।एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीहरुको सेयर संरचनामा परिवर्तन गर्ने निर्णय गरेको छ। हाल कायम रहेको ६० प्रतिशत संस्थापक सेयर संरचना घटाएर ५१ प्रतिशत मा सीमित गर्ने गरी ९ प्रतिशत सेयर सर्वसाधारण समूहमा रूपान्तरण गरिने संस्थाले जनाएको छ।
यस प्रक्रियाअन्तर्गत संस्थाले इच्छुक संस्थापक सेयरधनीहरुलाई आगामी २१ दिनभित्र आफ्नो धारणा स्पष्ट गर्न आग्रह गरेको छ। सूचना प्रकाशित भएको मितिबाट २१ दिनभित्र पोखरास्थित संस्थाको केन्द्रीय कार्यालयमा लिखित निवेदन दिई सेयर सर्वसाधारण समूहमा रूपान्तरण गर्न नचाहने भन्ने जानकारी गराउन सकिनेछ।
यदि तोकिएको समयावधिभित्र कुनै लिखित निवेदन प्राप्त नभएमा, सम्बन्धित संस्थापक सेयरधनीहरूलाई मञ्जुर भएको ठानी ती सेयरलाई सर्वसाधारण समूहमा रूपान्तरण गर्ने प्रक्रिया अगाडि बढाइने संस्थाले स्पष्ट पारेको छ।
यो कदमले एनएमबी लघुवित्तको सेयर स्वामित्व संरचनामा पारदर्शिता ल्याउने र बजारमा सर्वसाधारणको सहभागिता बढाउने अपेक्षा गरिएको छ। साथै, पूँजीको तरलता वृद्धि हुने र सेयर कारोबारमा सकारात्मक प्रभाव पर्ने जानकारहरूको विश्लेषण छ।