काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । यस प्रयोजनका लागि कम्पनीले बुक क्लोज मिति यही जेठ १६ गते तोकेको छ ।
कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । बुक क्लोज मितिअघि अर्थात् जेठ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्रै हकप्रद सेयर खरिदका लागि योग्य हुनेछन् ।
कम्पनीले १ः०.४२ अनुपातमा रु. १०० अंकित दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ । यसअन्तर्गत, प्रत्येक १०० कित्ता सेयरको लागि ४२ कित्ता हकप्रद सेयर खरिद गर्न पाइनेछ ।
नेपाल धितोपत्र बोर्डले गत वैशाख २६ गते कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति दिइसकेको छ । हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले लिएको छ ।
कम्पनीको यो कदमले पूँजी वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।