काठमाडौं, जेठ ७ – विकाश हाईड्रोपावर कम्पनी लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि प्राथमिक शेयर (IPO) निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ।
कम्पनीले यस चरणमा कुल १२ लाख ६३ हजार ६५१ कित्ता शेयर निष्कासन गर्दैछ।
नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृतिअनुसार कम्पनीले वैशाख १५ गतेदेखि कुल ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण सेयर जारी गर्न अनुमति पाएको हो।
प्रभावित क्षेत्रका लागि यस्तो छ बाँडफाँट:
- अति प्रभावित क्षेत्र (गोर्खा जिल्लाको धार्चे गाउँपालिका वडा नं. ४ र ५) का स्थायी बासिन्दाका लागि ३ लाख ६३ हजार ६४० कित्ता
- प्रभावित क्षेत्र (धार्चे गाउँपालिका वडा नं. १, २, ३, ६ र ७) का लागि ५ लाख ४५ हजार ४६१ कित्ता
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ५४ हजार ५५० कित्ता शेयर छुट्याइएको छ।
आवेदन सीमा र प्रक्रिया
उक्त वर्गका आवेदकले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
- आयोजना प्रभावित क्षेत्रका लागि आवेदन खुला रहने अन्तिम मिति छिटोमा जेठ २० र ढिलोमा असार ४ गतेसम्म हुनेछ।
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन अवधि जेठ २० गतेसम्म सीमित रहनेछ।
आवेदन कहाँ गर्ने?
- आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आयोजनास्थल, धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, प्रभु क्यापिटल, हिमालयन बैंक धार्चे शाखा तथा प्रभु बैंकको आरुघात शाखाबाट आवेदन दिन सक्नेछन्।
- वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय र मेरोसेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
यस आईपीओको बिक्री व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले पहिलो चरणमा प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरेपछि दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ खुला गर्ने जनाएको छ।