काठमाडौं – अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उल्लेखनीय वित्तीय सुधार गर्न सफल भएको छ। कम्पनीले यस अवधिमा ३५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८८.९९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ४ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो।
विद्युत बिक्रीमार्फत कम्पनीले १ अर्ब १९ करोड रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २५.७६ प्रतिशतले बढी हो। यसबाहेक कम्पनीले अन्य आम्दानीतर्फबाट १ करोड ८१ लाख रुपैयाँ प्राप्त गरेको छ, जुन अघिल्लो आवको १२ लाख ९५ हजार रुपैयाँभन्दा उल्लेखनीय वृद्धि हो।
विभिन्न खर्चहरूमध्ये प्रशासनिक खर्च ३ करोड २७ लाख, बिक्री÷वितरण खर्च २१ करोड १५ लाख, ह्रासकट्टी खर्च ३१ करोड ७६ लाख तथा वित्त खर्च ४५ करोड ८८ लाख रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीले ४ लाख ३८ हजार रुपैयाँ वित्त आम्दानी आर्जन गरेको छ।
कम्पनीको चुक्तापूँजी ६ अर्ब ७ करोड रुपैयाँ छ भने कुल चालु सम्पत्ति ६१ करोड १ लाख र चालु दायित्व १ अर्ब ३ करोड रुपैयाँ रहेको छ। वित्तीय सूचकहरूमा पनि कम्पनीले सुधार गरेको छ। प्रतिसेयर आम्दानी (EPS) अघिल्लो आवको ४.२५ रुपैयाँबाट बढेर ७.७६ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ १०९.८५ रुपैयाँ रहेको छ भने मूल्य–आम्दानी अनुपात (P/E Ratio) ३५.२० गुणा कायम भएको छ। तर, तरलता अनुपात भने ०.५९ प्रतिशतमा सीमित रहेको छ।
कम्पनीले देखाएको यो सुधारले लगानीकर्ताहरूको विश्वास बढाउने अपेक्षा गरिएको छ।