काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा डाक्ने निर्णय गरेको हो।
सभाको आयोजना आगामी जेठ ८ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्याटररमा अपरान्ह २ बजेबाट हुनेछ। सभामा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना र प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट प्राप्त निर्देशन अनुसार आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पनि पेश गरिनेछ।
यसैगरी, सभामा आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिबाट प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल तथा अनुमोदन गरिनेछ। साथै सो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि पनि छलफल गरी पारित गरिनेछ। सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचनसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार, वैशाख २७ गतेसम्म नेप्सेमा कारोबार गरी कायम भएका सेयरधनीहरू मात्र सभामा सहभागी भई मतदान गर्न योग्य हुनेछन्।




