काठमाडौं, वैशाख ३ – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको प्रवर्द्धनमा सञ्चालित रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले आजदेखि “रिलायबल समृद्धि योजना” सार्वजनिक निष्काशनमार्फत सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।
यो नेपालमै बीमा कम्पनीको कोष प्रवर्द्धनमा आएको पहिलो सामूहिक लगानी योजना हो, जुन १० वर्ष अवधिको बन्दमुखी प्रकारको म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुनेछ।
कुल १ अर्ब बराबरको १० करोड इकाईमध्ये ८५ लाख सर्वसाधारणलाई
यो योजनाको कुल आकार १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई रहेको छ।
- यसमध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई सुरक्षित गरिएको छ।
- १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक रिलायबल क्यापिटललाई सुरक्षित गरिएको छ।
- बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्काशन गरिएको हो।
न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन गर्न सकिने
सार्वजनिक निष्काशनमा सहभागी हुन चाहने लगानीकर्ताले न्यूनतम १०० इकाई (रु १,०००) र अधिकतम १ करोड इकाई (रु १० करोड) सम्म आवेदन दिन सक्नेछन्। प्रत्येक इकाईको मूल्य रु १० तोकिएको छ।
वैशाख ७ सम्म आवेदन खुला, पूर्ण आवेदन नभए वैशाख १७ सम्म
सार्वजनिक निष्काशन वैशाख ७ गतेसम्म खुला हुनेछ। तर तोकिएको समयभित्र सम्पूर्ण इकाई बिक्री नभएमा वैशाख १७ गतेसम्म अवधि विस्तार गरिनेछ।
सहज आवेदन प्रक्रिया
यो योजनामा लगानी गर्न चाहनेले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरू, वा ‘मेरो शेयर’ पोर्टलमार्फत अनलाइनबाट पनि सजिलै आवेदन दिन सक्नेछन्।
निष्काशन तथा बिक्री प्रबन्धक
यस योजनाको निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा सानिमा क्यापिटल लिमिटेड कार्यरत रहेको छ।
रेटिङ्ग र प्रतिफल
CARE Ratings Nepal ले कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई CARE NP BBB+ (Triple B Plus) र योजना व्यवस्थापक रिलायबल क्यापिटललाई CARE NP AMC Quality 4+ को रेटिङ्ग प्रदान गरेको छ।
कम्पनीका अनुसार यो योजनाबाट १७.७३ प्रतिशतको औसत वार्षिक प्रतिफल प्राप्त हुने प्रक्षेपण गरिएको छ। बीमा कम्पनीको प्रवर्द्धनमा आधारित पहिलो म्युचुअल फण्ड भएकाले लगानीकर्ताहरूका लागि यो योजना विशेष आकर्षक हुने विश्वास गरिएको छ।