नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत फागुन ८ गतेदेखि हाल कायम चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँबराबरको १ः०.२५ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद निष्कासन गरेको थियो।
कम्पनीले न्यूनतम पूँजी कायम गर्न तथा व्यवसाय वृद्धिमा टेवा पुर्याउने उद्देश्यले हकप्रद सेयर जारी गरेको जनाएको छ। हकप्रद सेयरको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।
आवेदन कहाँ दिने? लगानीकर्ताले नेको इन्स्योरेन्सको केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालय, सानिमा क्यापिटल, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै, सीडीएससीको मेरो सेयर प्लेटफर्मबाट अनलाइन आवेदन दिन सकिनेछ।
बुक क्लोज मिति हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत माघ १८ गते बुक क्लोज गरेको थियो। त्यसैले, माघ १७ गतेसम्म नेप्सेमा कारोबार गरी कायम भएका सेयरधनीहरूले मात्र यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।
आज आवेदन दिने अन्तिम दिन भएकाले इच्छुक लगानीकर्ताहरूले समयमा नै आवेदन दिनुपर्नेछ ।




