मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने घोषणा गरेको छ। संस्थाले एफपीओ निष्कासनको मुख्य प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ। चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख २ गते काठमाण्डौको बुढानिलकण्ठस्थित होटल अम्रप्रस्थ ब्याङ्क्वेट एण्ड इभेन्ट्समा बिहान ११ बजे साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ।
साधारण सभामा सर्वसाधारणलाई एफपीओ जारी गर्ने तथा अन्य ‘घ’ वर्गका लघुवित्त संस्थाहरूसँग गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।
यसैगरी, आव २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित लेखापरीक्षण गरिएको २०८१ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आव २०८०/८१ को नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत सोही अवधिका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गरिनेछ। साथै, आव २०८१/८२ का लागि बाह्य लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ।
सभामा ४ जना संस्थापक सेयरधनी र २ जना सर्वसाधारण सेयरधनी गरी कुल ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव अनुमोदन गरिनेछ।
साधारण सभा प्रयोजनका लागि संस्थाले चैत २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।