नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि चैत ७ गते बुक क्लोज गर्ने भएको छ।
यस अनुसार, आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरू मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।
कम्पनीको सञ्चालक समितिको गत फागुन २४ गते बसेको बैठकले सेयरधनीहरूलाई हाल कायम रहेको चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) सहित कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो।
लाभांश पारित गर्न कम्पनीले आगामी चैत १९ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ७६औं वार्षिक साधारण सभा आयोजना गर्ने तयारी गरेको छ। उक्त सभा बिहान ११ बजेबाट सुरु हुनेछ।
सेयरधनीहरूलाई सभामा उपस्थित भई कम्पनीको आगामी नीति तथा कार्यक्रमबारे छलफल गर्न अनुरोध गरिएको छ।




