नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर खरिदका लागि आवेदन दिने समयावधि बढाएको छ। कम्पनीले फागुन ८ गतेदेखि हाल कायम चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँको १ः०.२५ अनुपातमा, प्रति सेयर अंकित मूल्य रु. १०० का दरले ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर जारी गरेको थियो।
पहिले तोकिएको आवेदन दिने अन्तिम मिति फागुन २८ गते रहेको थियो, तर अब लगानीकर्ताहरूले चैत १४ गतेसम्म आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताहरूले नेको इन्स्योरेन्सको केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरू, सानिमा क्यापिटल, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्छन्। साथै, सीडीएससीको मेरो सेयर पोर्टलमार्फत अनलाइन आवेदन दिने सुविधा पनि उपलब्ध छ।
कम्पनीले न्यूनतम पूँजीको आवश्यकतासहित व्यवसाय विस्तार गर्न हकप्रद सेयर जारी गरेको बताएको छ। यस हकप्रदको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।
हकप्रद सेयर निष्कासनका लागि कम्पनीले गत माघ १८ गते बुक क्लोज गरेको थियो। तसर्थ, माघ १७ गतेसम्म नेप्सेमा कारोबार भई सेयरधनी बनेका लगानीकर्ताहरूले मात्र यस हकप्रद सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।