काठमाडौं । गरिमा विकास बैंकले सेयर धितोकर्जा लिएर साँवा, ब्याज र अन्य दस्तुर समयमै नबुझाउने ऋणीको स्वामित्वमा रहेको कालिका लघुवित्त को १८ हजार ७४८ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ।
बैंकको शाखा कार्यालय वालिङ, स्याङ्गजाबाट कालिका लघुवित्तको संस्थापक सेयर धितो राखी सेयर कर्जा उपभोग गरेका ऋणीलाई साँवा, ब्याज र अन्य दस्तुर रकम तिर्न पटक-पटक मौखिक तथा लिखित रूपमा ताकेता गर्दा पनि नतिरेपछि बैंकले लिलामी प्रक्रिया अघि बढाएको हो। बैंकले विभिन्न मितिहरूमा राष्ट्रिय स्तरका दैनिक पत्रिकामा सूचना प्रकाशित गरेर पनि कर्जा चुक्ता गर्न आग्रह गरे पनि ऋणीले कर्जा सम्बन्धी शर्त उल्लङ्घन गरेकाले लिलामी गर्ने निर्णय गरिएको छ।
सेयर खरिद प्रक्रिया
यो सेयर खरिदका लागि कालिका लघुवित्तका विद्यमान संस्थापक, योग्य व्यक्ति, संस्था, फर्म, कम्पनी, संघ तथा संस्थाहरूले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।
लिलामी कार्य रोक्ने सम्भावना
यद्यपि, ऋणी तथा व्यक्तिगत जमानत दिने व्यक्तिहरूले तोकिएको समयभित्र बैंकमा उपस्थित भई सम्पूर्ण बाँकी बक्यौता रकम चुक्ता गरेमा वा कर्जा राफसाफ गरेमा लिलामी प्रक्रिया स्थगित गरिने बैंकले जनाएको छ।