काठमाडौं । पियोर इनर्जी लिमिटेडले यही फागुन २० गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पूँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रकमबराबरको रु. १०० अंकित दरका १ लाख ६० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र अर्थात बाँके जिल्लाका स्थानीय बासिन्दाहरूका लागि जारी गर्नेछ। त्यस्तै, जारी पूँजीको १८ प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ४४ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपाली नागरिकहरूका लागि छुट्याइएको छ।
सेयर बाँडफाँड र आवेदन प्रक्रिया
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याइएको सेयर बाँडफाँड गरी बिक्री नभई बाँकी रहन गएमा त्यस्तो सेयर सर्वसाधारण समूहमै थप गरी निष्कासन गरिने कम्पनीले जनाएको छ।
कम्पनीको सेयर निष्कासन बन्द छिटोमा चैत ५ गते हुनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासित सेयर ढिलोमा चैत २० गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा कार्यालयहरू तथा मेरो सेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
यस्तै, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले नबिल बैंकका शाखा कार्यालयहरू कोहलपुर र नेपालगञ्ज, लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयहरू कोहलपुर र नेपालगञ्ज, सिद्धार्थ बैंकका शाखा कार्यालयहरू खजुरा, न्यूरोड, नेपालगञ्ज र विपी चोक, कुमारी बैंकका शाखा कार्यालयहरू चिसापानी, खजुरा, कोहलपुर, सुर्खेत रोड नेपालगञ्ज र रिमझिम बजार तथा खजुरा गाउँपालिकामा रहेको सौर्य विद्युत उत्पादन केन्द्रमा आवेदन बुझाउन सक्नेछन्।
पूँजी संकलनको उपयोगिता
कम्पनीले धितोपत्र निष्कासनबाट प्राप्त पूँजी नबिल बैंक र स्ट्याण्डर्ड बैंकको कर्जा भुक्तानी, धरौटी भुक्तानी तथा अन्य दायित्व भुक्तानी गर्न उपयोग गर्नेछ।
आवेदन सीमा
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले न्यूनतम १० कित्ता र अधिकतम १६ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम ७ हजार २ सय कित्तासम्म आवेदन दिन सक्नेछन्।
सेयर निष्कासन तथा बिक्री प्रबन्धक
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ।
कम्पनीले आईपीओ निष्कासन गर्न गत फागुन २ गते नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएको थियो। पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ जारी गरेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ