सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणसँग सम्बन्धित विवाद समाधान गर्न वार्ता टोली गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा आइतबार गठित यो टोलीमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, र सहरी विकास मन्त्रालयका प्रतिनिधिहरू सहभागी छन्।
गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार, वार्ता र संवादमार्फत समस्या समाधान गर्ने उद्देश्यले उक्त टोली गठन गरिएको हो। विज्ञप्तिमा गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ र छिमेकी जिल्लाका प्रतिनिधिसभा सदस्यहरूसँग नियमित संवाद गर्दै समस्या समाधानका लागि आवश्यक पहल गरिरहेको उल्लेख छ।
सरकारको कार्यविभाजन नियमावली, २०७४ अनुसार केवलकार, रज्जुमार्गसम्बन्धी नीति, कानून र मापदण्ड सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यक्षेत्रमा पर्ने भएकाले स्थानीयस्तरमा उठेका प्रश्न र सरोकारलाई ध्यानमा राखी सम्बन्धित सबै पक्षसँग समन्वय तथा सहजीकरण गरिएको मन्त्रालयले जनाएको छ।
समस्या समाधानका लागि गृह मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पहल गर्न अनुरोध गरेको छ। साथै, यो विषय बहुपक्षीय सरोकारको भएकाले शान्ति सुरक्षासम्बन्धी व्यवस्थापनलाई समेत ध्यानमा राखी अन्य सरोकारवाला निकायहरूसँग समन्वय र सहजीकरण गर्ने जिम्मेवारी गृह मन्त्रालयले लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।