एनआईसी एशिया बैंक लिमिटेडले लिलामीमा राखेका तीनवटा कम्पनीका संस्थापक सेयर खरिदका लागि आवेदन दिने अन्तिम मिति आज हो।
बैंकले सूर्योदय वोमी लघुवित्तका ५९,०६० कित्ता, सीआईटीका ५०,००० कित्ता, र सूर्यज्योति लाइफका ८,९३,८२५ कित्ता सेयर गरेर कुल ९,४९,७८५ कित्ता सेयर पुस २५ गतेदेखि लिलामीमा राखेको थियो।
सूर्योदय वोमी लघुवित्तको न्यूनतम मूल्य २५३ रुपैयाँ, सीआईटीको ७०३ रुपैयाँ, र सूर्यज्योति लाइफको १५९ रुपैयाँ निर्धारण गरिएको छ।
बोलपत्र पेश गर्दा लगानीकर्ताले आफूले किन्न चाहेको सेयरको संख्या, प्रतिकित्ता मूल्य अंक र अक्षरमा स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। सूर्योदय वोमी र सूर्यज्योति लाइफका सेयर खरिदका लागि न्यूनतम ५,००० कित्ता र सीआईटीका लागि न्यूनतम १०,००० कित्ता आवेदन दिनुपर्नेछ। अधिकतममा चाहिँ उपलब्ध सम्पूर्ण सेयरका लागि आवेदन दिन सकिनेछ।
सेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौंको थापाथलीस्थित ट्रेड टावरमा रहेको एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी, र सुर्खेत शाखा कार्यालयहरूमा बुझाउन सकिनेछ।