नेपालको पहिलो म्युजियम पाँचतारे होटल “वर्णबास” सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने तयारीमा रहेको छ। कम्पनीको प्रथम वार्षिक साधारण सभाले आईपीओ जारी गर्ने प्रस्ताव अनुमोदन गरेको छ।
होटलमा कुल एक अर्ब १६ करोड रुपैयाँको लगानी गरिएको छ। यहाँका कोठाको न्यूनतम शुल्क २५० अमेरिकी डलर (झण्डै ३२ हजार रुपैयाँ) तोकिएको छ, भने प्रेसिडेन्सियल स्विटका लागि १७०० अमेरिकी डलर (झण्डै दुई लाख १५ हजार रुपैयाँ) सम्म शुल्क पर्छ। होटलले पाँचतारे सुविधासहित सानो, लक्जरी, बुटिक अनुभव र सांस्कृतिक सम्पदालाई एकीकृत गरेको छ। यसको सञ्चालन नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले गरिरहेका छन्।
होटललाई नेपालको कला, इतिहास, र विविधता झल्काउने गरी निर्माण गरिएको छ। यो होटलले राष्ट्रिय र अन्तर्राष्ट्रिय पाहुनालाई पाँचतारे सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। होटलको विशेषतामा यसको छतबाट सगरमाथा, ल्होत्से, र नुप्त्से हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिने उल्लेख गरिएको छ।
होटलको प्रत्येक तला, कोठा, र सार्वजनिक स्थानलाई नेपाली कला, संस्कृति, र परम्पराको प्रदर्शन हुने गरी डिजाइन गरिएको छ।
“वर्णबास” नाम होटलले नेपालका चार वर्ण र ३६ जातको सांस्कृतिक विविधताको प्रतिनिधित्व गर्नका लागि राखिएको हो। होटल व्यवस्थापनले यो होटलले नेपालको सांस्कृतिक विविधतालाई विश्वसामु प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्षम रहेको दाबी गरेको छ।