सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि घोषणा गरेको नगद लाभांश सेयरधनीहरूको बैंक खातामा जम्मा गरेको छ। बैंकले पुस २८ गते सम्पन्न २३औं वार्षिक साधारण सभाबाट स्वीकृत ४ प्रतिशत नगद लाभांश (करसहित) बुक क्लोजको समयमा अभौतिक सेयरधनीहरूको अद्यावधिक बैंक खातामा पुस २८ गतेदेखि नै जम्मा गरेको हो।
बैंकले, बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूलाई आफ्नो निक्षेप सदस्यसँग सम्पर्क गरी खाता अद्यावधिक गर्न आग्रह गरेको छ। त्यस्तै, भौतिक रूपमा सेयर धारण गर्ने सेयरधनीहरूलाई आफ्नो सेयर अभौतिकीकरण गराएपछि मात्र लाभांश रकम स्वतः खातामा जम्मा हुने जानकारी दिँदै, अभौतिकीकरण प्रक्रिया पूरा गर्न सिद्धार्थ क्यापिटलसँग सम्पर्क गर्न सुझाव दिएको छ।
यसैगरी, पुस १३ सम्म सेयर धितो राखी कर्जा लिएका सेयरधनीहरूको नगद लाभांश भने सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट “नो अब्जेक्सन लेटर” प्राप्त भएपछि मात्र खातामा जम्मा गरिनेछ। सो मितिपश्चात् कर्जा चुक्ता गरेका सेयरधनीहरूको लाभांश रकम पनि सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपछि मात्र खातामा जम्मा गरिने जानकारी बैंकले दिएको छ।