लक्ष्मी सनराइज बैंकको प्रायोजनमा र लक्ष्मी सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालित लक्ष्मी सस्टेनेबल इनर्जी फन्डको पहिलो वार्षिक साधारण सभा मिति २०८१ पुस २८ मा सफलतापूर्वक सम्पन्न भएको छ।
नवीकरणीय ऊर्जा र दिगो विकासलाई प्रवर्द्धन गर्दै आर्थिक समृद्धिका लागि लगानी गर्ने उद्देश्यका साथ स्थापना गरिएको यस कोषले विभिन्न जलविद्युत् र दिगो ऊर्जा क्षेत्रमा लगानी गर्दै आएको छ।
नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त यस प्राइभेट इक्विटी कोषको कुल आकार एक अर्ब रुपैयाँ रहेको छ। संकलित रकमको ९० प्रतिशत दिगो ऊर्जा क्षेत्रमा लगानी गर्ने र बाँकी १० प्रतिशत अन्य विविध क्षेत्रमा विनियोजन गर्ने योजना कोषले अघि सारेको छ।
साधारण सभाले कोषको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै आगामी दिनमा थप ऊर्जा परियोजनामा लगानी विस्तार गर्ने योजनाबारे चर्चा गरेको छ। कोषले दिगो विकासका लक्ष्यहरूमा योगदान पुर्याउँदै ऊर्जा क्षेत्रको विकासमार्फत आर्थिक वृद्धिमा योगदान दिने लक्ष्य राखेको छ।




